भक्तपुरका नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ ।
भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल १४६ जनाको पहिचान भएसंगै उनीहरुको नमूना सङ्कलन गर्न शुरु भएको हो ।
लगत सङ्कलन गर्नेक्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएका ४१ जनाको पहिचान गरि स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर ट्राभल हिस्ट्री लिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षण गरेको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए। विदेशबाट फर्किएकामध्ये शङ्कास्पद पाँच जनाको स्वाव सङ्कलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको तर रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।
त्यसैगरि सूर्यविनायक नगरपालिकाले विदेशबाट फर्किएका ७१ जनाको पहिचान गरेको छ । सूर्यविनायकमा दुईसाता यता अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, मेलेसिया, दुबई, कतार, कुबेत, भारत, बङ्गलादेश, कोरिया, पोल्याण्ड, साईप्रस, इण्डोनेसिया, मकाऊबाट फर्किएका २१ महिला र ५० पुरुष गरी कूल ७१ जनाको वडागत लगत सङ्कलन गरी घर भित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए। उनले विदेशबाट आएकालाई कम्तीमा १४ दिन घर भित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राख्ने बताए।
त्यसैगरि चाँगुनारायण नगरपालिकामा विदेशबाट फर्किएका १७ जनाको पहिचान गरेको र लगत सङ्कलन गर्ने कार्य जारी रहेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सेनाले जानकारी दिए । भक्तपुर नगरपालिकाले अहिलेसम्म १७ जनाको लगत सङ्कलन गरेको र यो कार्य जारी छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले विदेशबाट फर्किएकाको स्थानीय तहमार्फत लगत सङ्कलन गर्ने क्रम जारी रहेको बताउँदै उनीहरु सबैलाई होम क्वारेन्टाइनमा स्वास्थ्य एवं सुरक्षा निगरानीमा राखिएको जानकारी दिइन्।
पहिचान भएका होम क्वारेन्टाइनमा नबसे तत्कालै पक्राऊ गरिने जानकारी दिँदै उनले स्वास्थ्यमा समस्या आएमा तत्काल स्थानीय तह वा सुरक्षाकर्मीलाई जानकारी गराउने र अस्पताल पठाउने व्यवस्था मिलाइएको बताइन्।
विदेशबाट नेपाल फर्किएकाहरुमा कोभिड–१९ को सङ्क्रमण पुष्टि हुन थालेपछि भक्तपुरका चारैवटै स्थानीय तह र सुरक्षा निकायले लगत सङ्कलन एवं निगरानी बढाएको हो ।
विदेशबाट आएकाहरुको भक्तपुुर अस्पतालमार्फत धमाधम स्वाब परीक्षण गर्न शुरु भएको छ । स्थानीय तहको निर्देशनपछि भक्तपुर अस्पतालमा विदेशबाट फर्किएकाको स्वाब सङ्कलन शुरु भएको छ ।
भक्तपुर अस्पतालकी सुपरिटेण्डन डा सुमित्रा गौतमले सोमबारसम्म १९ जनाको स्वाब सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिइन्। त्यसमध्येमा आइसोलेशनमा भर्ना भएका चारसहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको र आठको रिपोर्ट आउन बाँकी छ।
रासस