दाङ– दाङमा कोरोना भाइरसको आशंकामा हालसम्म २४ जनाले आइसोलेशनमा भर्ना भएर उपचार गराएका छन्।
भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन्। दश जना अहिले पनि उपचारका क्रममा छन्।
पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ।
“दाङबाट पठाइएको १४ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको छ,” उनले भने “बेलझुण्डीमा उपचार गराइरहेकामध्ये थप पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ।”
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक भर्ना भएका छन्।
दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन्। कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन्। रासस