बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठिमी राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

ठिमी राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । कोभिड–१९ को विश्व महामारीको चपेटामा परिरहेका अवस्थामा नेपालमा पनि सङ्क्रमण फैलिन थालेपछि सरकारले आगामी २५ गतेसम्मका लागि थप गरेकोे लकडाउनका अवधि लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन यहाँ खाद्य सामग्री भण्डारण गर्ने भएको हो ।

भवनमा नेपाली सेनाको नेतृत्वमा अत्यावश्यक खाद्यान्न भण्डारण गर्ने र अभाव भएमा जिल्लाका चारै वटा नगरपालिकामा वितरण गर्ने गरी खाद्य भण्डारण गर्ने भएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराईसहित संयुक्त सुरक्षा फौजको टोलीले उक्त भवनको अनुगमन गरी खाद्य भण्डारका लागि छनोट गरेको हो ।

भवन छनोटपश्चात् दुर्गाप्रसाद न्यौपानेको राधेराधेस्थित प्रयोगविहीन १७ तले भवन हालको सङ्कटको समयमा प्रयोग गर्न माग गर्दा न्यौपानेले विपद्मा निःशुल्क प्रयोग गर्ने गरी सुरक्षा फौजलाई उपलब्ध गर्न स्वीकृत दिएका हुन्। ततपश्चात् जिल्ला प्रशासन कार्यालय भक्तपुरले न्यौपानेलाई उक्त भवन प्रयोग गर्नेबारे पत्राचार गरिसकेको छ । भवनमा खाद्यान्न स्टोर तथा वितरणका लागि प्रयोग गरिने भएपछि नेपाली सेनाको वीरदल गण सूर्यविनायक ब्यारेकबाट खटिएका सेनाको टोलीले भवनको सरसफाइ गरी तयारी अवस्थामा राखेको वीरदल गणका गणपति शिवप्रसाद पौडेलले जानकारी दिए।

यसका लागि नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले ५० थान त्रिपाल उपलब्ध गराएको छ । त्रिपाल ओछ्याउने र खाद्यान्न भण्डारणका लागि ठाउँ तयारी अवस्थामा राखिएको छ । लकडाउन लम्बिदै जाँदा खाद्य सामग्रीको अभाव भएमा जिल्लाका चारवटै नगरपालिकासँग समन्वय गरी सम्बन्धित नगरपालिकाको वडा कार्यालयमार्फत नागरिकलाई खाद्य सामग्री वितरण गर्न सकिने गरी तयारी गर्न लागिएको वीरदल गणका गणपति पौडेलले जानकारी दिए।

यसअघि विसं २०७२ को महाभूकम्पको विपद्मा पनि नेपाली सेनाले विवादरहितरुपमा जनताको सेवामा खटिएको र अहिले स्वास्थ्य सङ्कटका बेलामा पनि खरिपाटीमा क्वारेन्टाइन निर्माणदेखि कोरोना भाइरस नियन्त्रणको अभियानसँगै पिपिई, मास्क, पञ्जालगायतका सामग्रीको व्यवस्थापनमा नेपाली सेनाको वीरदल गण सक्रिय हुँदै आएको छ ।
रासस

प्रकाशित: Mar 30, 2020| 18:02 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।