सुर्खेत– कर्णाली प्रदेशबाट कोरोनाको परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएका छन् । सामाजिक विकास मन्त्री दल रावलका अनुसार रुकुम पश्चिम, जुम्ला र सुर्खेतबाट परीक्षणका लागि पठाइएका १७ वटा रिपोर्ट नेगेटिभ आएका छन् ।
कोरोनाको प्रतिकार्यका लागि अहिलेसम्म उपचारका लागि उच्चस्तरको मानिने भेन्टिलेटरसमेत तयार पारिएको छ । मन्त्रालयका अनुसार कर्णालीमा ७ बेडको भेन्टिलेटर र १७ बेडको आईसीयू तयार पारिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ र प्रदेश अस्पतालमा दुई गरी ७ वटा भेन्टिलेटर तयार अवस्थामा राखिएको छ । त्यस्तै आईसीयूतर्फ कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा १०, प्रदेश अस्पतालमा ४ र चौरजहारी सामुदायिक अस्पताल रुकुममा ३ वटा आईसीयू तयार पारिएका छन् ।
२ हजार ५ सय २८ बेडको क्वारेन्टाइन निर्माण गरेको कर्णाली प्रदेशका १० जिल्लामा आइसोलेसनसमेत तयार गरिएका छन् । मन्त्रालयका अनुसार प्रदेशमा ३ सय ३९ वटा आइसोलेसन बेड तयार भएका छन् ।
जस अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १ सय २०, प्रदेश अस्पताल सुर्खेतमा ८५, मुगुमा ७, सल्यानमा २२, कालिकोटमा १४, डोल्पामा आठ, हुम्लामा १०, जाजरकोटमा ६, रुकुमपश्चिममा १०, दैलेखमा ५७ बेडको आइसोलेसन बेड तयार पारिएको छ ।