बिहीबार, भदौ ४, २०८३

कोरोनाबाट हुने मृत्यु दर देशपिच्छे किन फरक

अहिलेसम्मको आंकडा अनुसार जर्मनीमा संक्रमणबाट हुने मृत्युदर ०.४ प्रतिशत मात्रै छ भने इटलीमा योभन्दा झण्डै २० गुणा बढी छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

यतिबेला विश्व कोरोना भाइरस महामारीको चपेटामा छ। हरेक दिन नयाँ संक्रमित र मृतक थपिने क्रम चलिरहेको छ। विश्वभर फैलिएको भए पनि क्षतिको हिसाबले कुनै देशमा यसले ठूलो प्रभाव पारेको छ भने कुनैमा सामान्य। हालसम्मको अवस्था हेर्दा प्रत्येक देशमा संक्रमणबाट हुने मृत्युदर फरक छ। यसका केही कारणहरु छन्।

जर्मनीमा कोरोना भाइरस संक्रमितको मृत्युदर तुलनात्मक रुपमा कम छ। अहिलेसम्मको आंकडा अनुसार जर्मनीमा संक्रमणबाट हुने मृत्युदर ०.४ प्रतिशत मात्रै छ भने इटलीमा योभन्दा झण्डै २० गुणा बढी छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो फरकका पछाडि थुप्रै कारण छन्। पहिलो कारण हो, देशको जनसंख्यामा लिंग र उमेरको विभाजन। त्यसपछि प्रत्येक देशको स्वास्थ्य सेवाको क्षमता पनि बेग्लाबेग्लै छ।

अर्को कारण हो, परीक्षण। जतिधेरै परीक्षण हुन्छ, संक्रमित व्यक्ति त्यति धेरै फेला पर्छन्। बढीभन्दा बढी परिक्षणले मृत्युदर पनि कम भएको देखिन्छ।

कसको परीक्षण

अर्थशास्त्री आन्द्रेयास बाकहाउसले इटलीमा कोरोना भाइरसबाट संक्रमितको औसत उमेर ६२ वर्ष र जर्मनीमा ४५ वर्ष भएको उल्लेख गरेका छन्।

प्रस्ट छ, परीक्षण नै कम भएपछि संक्रमण भए नभएको पुष्टी हुँदैन र संक्रमितहरुको सूचीमा परीक्षण नभएका मानिसहरु पर्ने कुरै भएन। यसले मृत्युदरको गणनामा पनि प्रभाव पार्छ। किनभने गम्भीर संक्रमण भएकालाई मात्र संक्रमितमा सामेल गरिएपछि मृत्युदर धेरै देखिन्छ।

इटलीको राष्ट्रिय अखबार कोरियेर डेला सेराका अनुसार देशमा संक्रमितको संख्या सरकारले भनिरहेभन्दा निकै धेरै हुनसक्छ, जसकाबारे रिपोर्टिङ भएको छैन।

तर, दक्षिण कोरियामा विल्कुलै फरक स्थिति छ। दक्षिण कोरियामा अन्य देशको तुलनामा निकै धेरै जनसंख्यामा परीक्षण गरिएको छ। परिणाम– त्यहाँ संक्रमणका कारण भएको मृत्युदर निकै कम छ।

जनसंख्या पिरामिड

देशको औसत आयुमा पनि यसको भूमिका हुनसक्छ। ज्येष्ठ नागरिकहरु जसमा पहिल्यैदेखि अन्य स्वास्थ्य समस्या छन् उनीहरु यो भाइरसको चपेटामा पर्ने खतरा धेरै हुन्छ।

सामान्यतया युवा बढी स्वस्थ हुन्छन्। जसै उमेर बढ्दै जान्छ शरीरको रोग प्रतिरोधि क्षमता (इम्युनिटी) कम हुँदै जान्छ । इम्युनिटी कम भएकालाई भाइरसले चाँडै गाँज्छ।

इटली र जर्मनी दुवै देशको जनसंख्या पिरामिड पनि उस्तै–उस्तै छ । सन् २०१८ मा जर्मनीको जनसंख्याको मध्यम उमेर ४६ वर्ष र इटलीमा ४६.३ थियो। सब–सहारन अफ्रिकी देशहरुमा मध्यम आयु अझै कम छ। चाडमा मध्यम उमेर १६ वर्ष छ, यस्ता देशमा मृत्युदर झनै कम हुनेछ।

महामारीको समय

मृत्युदरमा देखिएको फरक महामारीको समयबाट पनि बुझ्न सकिन्छ। जुन देशमा महामारीको असर बढी देखिएको छ, जस्तो इटली र स्पेनमा– त्यहाँ भाइरस संक्रमणको सुरुदेखि गम्भीर बिरामीको मृत्युको अवस्थाको समय आउन केही साताको समय लागेको छ।

वैज्ञानिकहरुका अनुसार जर्मनी अझै महामारीको गम्भीर चरणमा पुगिसकेको छैन। गम्भीर चरणमा पुग्यो भने त्यहाँ मृत्युदर बढी देखिन सक्छ। किनभने कसैको पनि संक्रमण हुँदा वित्तिकै मृत्यु हुँदैन।

स्वास्थ्य सेवाको अवस्था

कोरोना भाइरसको महामारीको सामना गर्न देशको स्वास्थ्य सेवा कति तयार छ भन्नेले पनि फरक पार्छ। यसका साथै संक्रमणको गति कम गर्नका लागि गरिएको व्यवस्थाले पनि मृत्युदरमा फरक पर्छ। गति कम गर्नुको अर्थ हो, देशभर नै संक्रमण फैलिसक्दा पनि त्यसलाई स्थिर राख्न सकिन्छ कि सकिंदैन ।

उदाहरणका लागि कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीलाई सास फेर्न सजिलो बनाउने भेन्टिलेटर मसिनको सहारामा मृत्यु हुनबाट रोक्न सकिन्छ। यस्तोमा पर्याप्त संख्यामा अस्पताल, बेड र भेन्टिलेटर हुनु जरुरी छ। आईसीयू बेड र भेन्टिलेटर नहुँदा अति गम्भीर अवस्थाका बिरामीलाई बचाउन मुस्किल हुन्छ। यो मामिलामा भने जर्मनी र इटलीबीच ठूलो फरक देखिएको छ।

६ करोड जनसंख्या भएको इटलीमा महामारी सुरु हुँदा ५ हजार आईसीयू बेड थिए। जबकी ८ करोड जनसंख्या भएको जर्मनीमा २८ हजार आईसीयू बेड छन्। त्यसमाथि जर्मनीले चाँडै नै आईसीयू बेडको संख्या दोब्बर बनाउँदैछ।

आईसीयू बेड

संसारभर आईसीयू बेडकोे बेग्लै कथा छ। जर्मनीमा प्रति एक लाख मानिसका लागि २९ आईसीयू बेड छन् जबकी अमेरिकामा ३४। यसैगरी इटलीमा प्रति एक लाख जनसंख्यामा १२ र स्पेनमा १० आईसीयू बेड छन्।

यहाँ निर के कुरामा ध्यान दिनुपर्छ भने दक्षिण कोरियाले ठूलो संख्यामा परीक्षण र बिरामीलाई एकान्तमा राखेर कोभिड– १९ फैलनबाट रोकेको छ। जबकि दक्षिण कोरियामा १ लाख मानिसका लागि आईसीयू बेडको संख्या १०.६ मात्रै छ।

दक्षिण कोरियाले मानिसहरुलाई क्वारेन्टिनमा राख्नका लागि कडा नियम बनायो र सुरुदेखि नै संक्रमणको गतिलाई नियन्त्रणमा राख्न सफल भयो। यहाँ करिब १० हजार मानिस संक्रमित भएका छन् । इटलीमा दक्षिण कोरियाभन्दा १० गुणा धेरै संक्रमित छन्। जर्मनीमा पाँच गुणा, स्पेनमा ६ गुणा र अमेरिकामा १० गुणा संक्रमित भएका छन्।

जबसम्म यो महामारी चल्दै गर्छ तबसम्म अलग अलग देशमा यसको संक्रमण र मृत्यु दरमा फरक देखिइरहनेछ। एकपटक जब यो सबै रोकिनेछ तब वास्तविक तथ्यांक हामी सामु आउनेछ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित: Mar 30, 2020| 14:54 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।