काठमाडौं– विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) महामारीसँग लडिरहेको छ।
चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता देखा परेको कोभिड–१९ अहिले २०२ देश तथा क्षेत्रमा फैलिएको छ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलनने भएकाले विभिन्न देशले यो प्रकोप कम गर्न थुप्रै उपाय अपनाएका छन्।
बिजनेश इन्साइडरका अनुसार यतिबेला विश्वको दुई तिहाई जनसंख्या लकडाउनमा छ।
अहिले अधिकांश देशहरुबीच एकअर्कासँग भौतिक सम्पर्क टुटेको छ। देशको मात्रै हैन व्यक्ति र समाजको सम्पर्क पनि बन्द छ। भौतिक सम्पर्कबाट सर्ने भएकोले थुप्रै देशमा यतिबेला लकडाउन (बन्दाबन्दी) छ।
बन्दाबन्दीमा रहेका केही देश:
१.नेपालः चैत ११ गते (२४ मार्च) देखि एक साताका लागि देशभर लागू गरिएकोे लकडाउनको म्याद बढाएर २५ गते (७ अप्रिल) सम्मका लागि पुर्याइएको छ।
२.भारतः २४ मार्चदेखि २१ दिनका लागि देशभर पूर्ण लकडाउन घोषणा गरिएको छ ।
३. जर्मनीः यहाँ लकडाउन शब्द प्रयोग गरिएको छैन । तर, २२ मार्चदेखि दुईभन्दा बढी व्यक्तिलाई अत्यावश्यक काम बिना सँगै बाहिर निस्कन रोक लगाएको छ। लकडाउनबारे जर्मनीले सोमबार थप निर्णय गर्नेछ।
४.बेलायतः २३ मार्चदेखि तीन साताका लागि कसैलाई पनि घरबाहिर ननिस्कन भनिएको छ। प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसमेत कोरोना संक्रमित भएका छन्।
५.स्वीट्जरल्याण्डः २४ मार्चदेखि १९ अप्रिलसम्म घरबाहिर ननिस्कन भनिएको छ। सबै सार्वजनिक स्थल, स्कुल, कलेज, रेष्टूरेन्ट र क्याफे बन्द गरिएको छ।
६.स्पेनः १४ मार्चदेखि स्पेनमा अनिश्चितकालीन संकटकाल लागू भएको छ।
७.फ्रान्सः १७ मार्चदेखि १० दिनको लकडाउन घोषणा गरिएको थियो। २७ मार्चमा फेरि १५ अप्रिलसम्मका लागि लकडाउन घोषणा गरिएको छ।
८.इटलीः लकडाउन गर्ने यूरोपको पहिलो देश जहाँ ९ मार्चदेखि अनिश्चितकालीन लकडाउन छ।
९.बेल्जियमः यहाँ १८ मार्चदेखि ५ अप्रिलसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । अब अवधि बढाएर १९ अप्रिल पुर्याइएको छ।
१०.डेनमार्कः यहाँ १३ अप्रिलसम्मको लागि लकडाउन घोषणा गरिएको छ । तर, त्यहाँको संक्रमणलाई हेर्दा लकडाउनको अवधि थप बढ्ने देखिन्छ।
११.ग्रीसः यहाँ २२ मार्चदेखि लकडाउन छ। घरबाट बाहिर निस्कनु परेमा परिचयपत्र देखाउनु अनिवार्य गरिएको छ।
१२.आयरल्याण्डः यहाँ २७ मार्चदेखि १२ अप्रिलसम्म कोही पनि घरबाट बाहिर निस्कन पाउने छैनन् ।
१३.दक्षिण अफ्रिकाः २७ मार्चदेखि तीन साताका लागि लकडाउन घोषणा गरिएको दक्षिण अफ्रिकाका सडकमा सेनाले पहरा दिइरहेको छ।
१४.न्यूजिल्याण्डः यहाँ २६ मार्चदेखि लकडाउन सुरु भएको हो । तर, बन्दाबन्दीको सर्तलाई लिएर नागरिकमा अझै असमञ्जस कायम छ।
१५.साउदी अरबः मक्का, मदीना र रियादमा २१ दिनसम्म कर्फ्यु लगाइएको छ।
अमेरिकामा घोषित रुपमा लकडाउन नगरिएको भए पनि जनजीवन ठप्प भएको छ। बहिरी चहलपहल निकै कम भएको छ भने अधिकांश कार्यालय र भीडभाड हुने सार्वजनिक स्थल बन्द छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले सोसल डिस्ट्यान्स (व्यक्तिगत दूरी) कायम गर्न अनुरोध गरेका छन्।
चीनपछि दक्षिण कोरियामा कोभिड–१९ को महामारी फैलियो। तर, कोरियाले संक्रमण फैलिएका दुई सहर मात्रै लकडाउन गरेर यसलाई नियन्त्रणमा राख्न सफल भएको छ। यसले बाँकी देशको जनजीवनमा उल्लेख्य असर पारेन।
चीनमा महामारी लगभग नियन्त्रणमा आइसकेको छ। विद्यालय, सार्वजनिकस्थल खुलिसकेका छन्। आन्तरिक आवागमन पूर्णरुपमा खुला गरिएको भएपनि अन्तर्राष्ट्रिय आवागमन बन्द नै छ।