काठमाडौं– देशका विभिन्न जिल्लामा आगलागीबाट साढे २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।
कपिलवस्तु, तेह्रथुम र रौतहठका विभिन्न स्थानमा आगलागी भएर धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३, कटेयाबारीका सरिअन मल्लाहाको घर र गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब तीन लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
यस्तै, तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित गोलेबारी किउरेनी सामुदायिक वनमा शनिबार दिउँसो आगलागी हुँदा स्थानीय रनमाया राईको घर, सुनका गहना, अन्नपात, लत्ताकपडा, भाडावर्तन, पानीट्यांकीलगायत करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाका शेष मङनीको कच्ची घरमा शनिबार साँझ आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात र भाडावर्तन जलेर करिब चार लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।