काठमाडौं– सरकारले यसवर्ष पनि दशैं, तिहार र छठ पर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो।
आगामी असोज १ गतेदेखि सञ्चालनमा ल्याइने सहुलियत मूल्य पसल मुलुकका विभिन्न ३९ स्थानमा रहने मन्त्रालयले जानकारी गराएको छ। सहुलियत मूल्य पसलमार्फत उपभोक्ताले चामलमा प्रतिकेजी ५ रुपैयाँ, सीमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट पाउने छन्। त्यस्तै नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइनेछ भने चिनीमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यस्तै खसीबोकाको मासुमा प्रतिकेजी १० रुपैयाँ छुटमा उपभोक्ताले खरिद गर्न पाउने र दुग्ध विकास संस्थानमार्फत दुग्धजन्य वस्तुमा पनि छुट दिइने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले आसन्न चाडपर्वलाई लक्षित गरी खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज तुल्याउने नेपाल आयल निगमलाई समेत निर्देशन दिइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।