बारा- बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रण कार्यालयमा कार्यरत एक जवानले ब्यारेकभित्रै आत्महत्या गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्तीका २७ वर्षीय बिमल भण्डारीले ब्यारेकभित्र बिहीबार राति झुण्डिएर आत्महत्या गरेका प्रहरीले जनाएको छ।
गुल्मका डिएसपी गोविन्द पुरीले ब्यारेकका सुरक्षाकर्मीले शुक्रबार बिहान भण्डारीलाई झुण्डिरहेको अवस्थामा देखेको जानकारी दिए। ‘राति १० बजेसम्म राजमार्गको डिउटी गरेर ब्यारेक पसेका उनी रातिको समयमा झुण्डिएको हुनसक्छन्’, पुरीले भने, ‘डिउटी पोष्ट भित्रै डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ।’
स्नातकसम्मको अध्ययन पुरा गरेका भण्डारी सशस्त्र प्रहरी सहायक निरीक्षक र निरीक्षक दुबै पदमा परीक्षा दिएर बसेको बुझिएको छ। परीक्षासमेत राम्रै भएको र अब विवाहको तयारीसमेत गर्नुपर्यो भनेर साथीहरुसँग कुरा गर्दै आएका भण्डारीले के कारणले आत्महत्या गरे भन्ने बारेमा नखुलेको पुरीले बताए।
भण्डारी सात वर्षअघि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए। घटनाबारे अनुसन्धान भैरहेको बारा प्रहरीले जनाएको छ।