काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चारदेखि ६ महिनासम्मका लागि पुग्ने खाद्यान्न र औषधि मौज्दात रहेको बताएका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टले खाद्यान्नको प्रशस्त मौज्दात रहेकोले अनावश्यक जोहोमा नलाग्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।
उनले अवस्था सहज बनाउन सबै सरोकारवाला निकायको समन्वयमा अनुगमन भइरहेको पनि बताए।
भट्टले भने, “तीन महिना पुग्ने चिनी र १० महिना पुग्ने नुन छ, पर्याप्त मौज्दात रहेका सामग्रीको आयात पनि नियमित भइरहेको छ।”
मन्त्री भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहकार्यमा काठमाडौं उपत्यकाको पाँच स्थानमा पसल खोल्ने तयारी भएको जानकारी दिए।
उनले काठमाडौं बाहिर आपूर्ति व्यवस्था सहज बनाउन जिल्ला प्रशासन र स्थानीय तहलाई सक्रिय बनाइएको बताए।
मन्त्री भट्टले पेट्रोलियममा समस्या नरहेको भन्दै केही प्राविधिक र हल्लाका कारण चापमात्र बढेको दाबी गरे।
उनले भने, “ग्यास उद्योगीलाई छिट्टै व्यवस्थापन गर्न निर्देशन दिइसकेका छौं।” मन्त्री भट्टले ग्यास आपूर्ति कम गर्न बिजुली प्रयोग गर्न उपभोक्तालाई आग्रह पनि गरे।