काठमाडौं– नेपालका विभिन्न जेलमा रहेका कैदी–बन्दीलाई आफन्तसँग भेट गर्न बन्द गरिएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार १५ दिनका लागि कैदीबन्दीलाई भेटघाट गर्न रोक लगाइएको हो।
विभागका सूचना अधिकारी देवर्षि सापकोटाले भने, ‘अदालतको आदेशबाहेक अरुलाई कारागारभित्र जान–आउन रोक लगाइएको छ।’
सापकोटाका अनुसार काठमाडौंमा कैदीबन्दीका लागि आइसोलेसन वार्डको तयारी गरिँदै छ।
ललितपुरस्थित नख्खु कारागारमा बनेको मनोसामाजिक बन्दी अस्पताललाई कैदी–बन्दीका लागि आइसोलेसन वार्ड बनाउने तयारी छ।
‘नख्खु कारागारको कम्पाउन्डभित्र बनेको अस्पतालको नयाँ भवनलाई आइसोलेसन वार्ड बनाउने विषयमा अनुगमन गरिएको छ’, सापकोटाले भने, ‘त्यहाँ ५० बेडसम्म राख्न सकिन्छ।’
कारागारभित्र कोरोनाविरुद्धको सचेतना फैलाउने कार्यक्रम भइरहेको छ।
याे पनि : जेलमा पनि कोरोनाको त्रास, अस्थायी रिहा गर्न कैदीको माग