काठमाडौं- तीनमहिना अघि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको नयाँ संक्रमण उत्पति स्थलमा शून्य देखिएको छ ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार वुहानमा बुधबार कोरोना भाइरसका एक जना पनि नयाँ संक्रमित भेटिएनन् । योसँगै वुहानमा कोरोना नियन्त्रणतर्फ उन्मुख भएको चिनियाँ अधिकारीहरुको दाबी छ ।
चीनले यसलाई कोरोना महामारीविरुद्धको जारी युद्धमा अहिलेसम्मकै ठूलो सफलता ठानेको छ।
गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो।
तर बुधबार पहिलोपटक उहानमा नयाँ संक्रमण नपाइएको स्थानीय अधिकारीले बताएका छन्।
वुहानबाट फैलिएको कोरोनाले विश्वका अन्य देशमा भने आतंक मच्चाएको छ । खासगरी युरोपेली देशहरुमा कोरोनाले भयावह रुप लिएको छ ।
अहिलेसम्म विश्वभर २ लाख १९ हजार २२८ ब्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ८ हजार ९६७ जनाको मृत्यु भएको छ ।
चीनमा मात्रै ८० हजार ९२८ जना कोरोना संक्रमित भएका थिए भने ३ हजार २४५ले ज्यान गुमाएका छन् ।