काठमाडौं- बारामा सहकारीबाट ऋण निकाल्न लगाएर महिलालाई ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका-८ का ५३ वर्षीय झुल खाँ पैठान र प्रसौनी गाउँपालिका–७ का ५० वर्षीय जहिर मियाँ रहेको प्रहरीले जनाएको छ।
दुबै जनाले महिलाहरुलाई सहकारीबाट ऋण निकाल्न लगाएर रकम आफूले लगेर ठगी गरेको खुलेको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए। मिश्रका अनुसार दुबै जनाले ३६ जना महिलाबाट १ करोड २४ लाख ७४ हजार ८ सय ९३ रुपैयाँ ठगी गरेका छन्।
महिलाहरुलाई ऋणको किस्ता तिरिदिने र ब्याज पनि दिने भन्दै लोभमा पारेर रकम ठग्ने गरेको खुलेको प्रहरीले जनाएको छ। गौतमका अनुसार पैठानले २२ जनाले सहकारी तथा लघुवित्तबाट निकालेको ८३ लाख ८१ हजार रुपैयाँ लगेको खुलेको छ।
सहकारीको किस्ता र उक्त रकमको ब्याज महिलाहरुलाई नै दिने भने पनि रकम लिएर उनी फरार भएको पीडितले बताएका छन्।
यस्तै जहिर मियाँले १४ जना महिलाबाट ४० लाख ९५ हजार ८ सय ९३ रुपैयाँ लिए पनि केही समयपछि किस्ता नतिरी फरार भएको खुलेको छ।
करिव ६ महिनादेखि उनीहरुको ठगी धन्दा सुरु भएको प्रहरीले जनाएको छ। दुबै जनालाई गठी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।