काठमाडौं- कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० (वैशाख १८ गते) सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित समितिको बुधबार बसेकाे बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थल, डान्सवार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले कोरोनाबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ।
त्यस्तै बैठकले अत्यावश्यक काममा बाहेक हिँडडुल नगर्ने, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरु पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद , चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिस भेला हुन बन्द गर्ने निर्णय गरेको छ।
बैठकले कोरोना संक्रमणबाट जोगिन तथा संक्रमित भएमा अपनाउने पर्ने सावधानीबारे १४ बुँदे निर्णय गरेकाे हाे।
त्यस्तै बैठकले सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च मध्य रातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको छ।

