काठमाडौं– राजधानीको सानो भर्याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।
प्रहरीले मास्क राखिएको कार्टुनसहित न्यौपानेलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले दीप ओभरसिज ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको जनाएको छ।
महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले मास्क बरामद गरेर मुचुल्का उठाउने काम भइरहेको बताए।
व्यापारीले मास्कको कालोबजारी गर्न थालेपछि प्रहरीले यसविरुद्धको अप्रेसन तीव्र पारेको छ।
यसअघि सोमबार प्रहरीले काठमाडौंको सतुंगलबाट करिब साढे ५ लाख थान सर्जिकल मास्क बरामद गरेको थियो।
चन्द्रागिरि नगरपालिका–१० स्थित विष्णुदेवी गोदाममा १ सय ७७ बोरामा लुकाई राखेको अवस्थामा साढे ५ लाख थान मास्क बरामद गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयले बरामद गरेका ती मास्क न्यूनतम बजार मूल्यमा बिक्रि गर्न प्रहरीलाई निर्देशन दिएको छ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमणको त्रास बढिरहेका बेला व्यापारीहरुले कालोबजारीका लागि संकलन गरेको अवस्थामा प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेका मास्क उचित मूल्यमा बिक्रि गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको हो।