बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना रोक्न चीनले सहयोग गर्ने : युरोपमा नेपाली त्रसित

कोरोना रोक्न चीनले सहयोग गर्ने : युरोपमा नेपाली त्रसित

नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको छ । भाइरस प्रभावित ...
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले कोरोनाका कारण देखिएको प्रभाव, कोरोना रोक्न चीनले गरेको सहयोग प्रस्ताव र प्रदेश २ को नामकरणमा देखिएको सकसलाई मुख्य समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले चीनले राख्यो सहयोग प्रस्ताव शीर्षकमा मुख्य समाचार छापेको छ भने कालोबजारी रोक्न मार्सल टोली परिचालन गर्न लागिएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले स्थानीय तह र वाणिज्य विभागका प्रतिनिधिसहितको मार्सल टोली परिचालन गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश २ को नाम राख्न चारचोटि मतदान भएपनि नाम नछानिएको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

आजको अन्नपूर्ण पोस्ट्ले युरोप ठप्प शीर्षकमा मुख्य समाचार छापेको छ भने प्रदेश २ को नाम र राजधानी छान्न कुनै पनि प्रस्तावमाथि दुईतिहाई नपुगेको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

अपांगता घटाउन सरकार–गैसस हातेमालोः पाँच वर्षमा दुई अर्ब खर्चिने शीर्षकमा मुख्य समाचार छापेको आजको नागरिक दैनिकले प्रदेश २ को नामकरणमा देखिएको सकसलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

आजको नयाँ पत्रिकाले भने दक्षिण एसियाली खेलमा नेपाललाई ऐतिहासिक सफलता दिलाउने खेलाडीले प्रधानमन्त्रीद्वारा घोषित पुरस्कार नै पाएनन् शीर्षकमा मुख्य समाचार छापेको छ ।

खेलाडीहरु विदेशीलाई हराएर पदक ल्याउन भन्दा आफ्नै सरकारले घोषणा गरेको पुरस्कार पाउन गाह्रो भएको भन्दै गुनासो गर्न थालेको समाचारमा उल्लेख छ ।

चीनले राख्यो सहयोग प्रस्ताव

कान्तिपुरमा प्रकाशित समाचारअनुसार कोरोना भइरस (कोभिड–१९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ ।

नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो । भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो ।

कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ । ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ ।

त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ । त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ ।

युरोप ठप्प : अन्योल र त्रासमा नेपाली

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्।

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्। अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन।

जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्।

अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसाबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ।

प्रकाशित: Mar 18, 2020| 01:16 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।