लामो माथापच्चीपछि प्रदेश नम्बर २ को नामकरणका लागि प्रदेश सभामा मतदान भए पनि त्यसको टुंगो भने लागेन। आज (मंगलबार) दिनभरको मतदानमा पनि टुंगो नलागेपछि प्रदेश २ को नामकरण थप अन्योलमा परेको छ।
आज चारवटा प्रस्तावमा मतदान भएको थियो। नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्य मधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनैमा पनि दुई तिहाइ पुगेन।
१०७ जना सांसद रहेको प्रेदश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ। तर, कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुगेन।
सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशकाे पक्षमा दुईतिहाइ बहुमत पुग्ने अपेक्षा गरिएको भए पनि पक्षमा ६० मत पर्यो भने विपक्षमा ४६ मत। एक मत भने बदर भएको छ।
प्रदेशको स्थायी राजधानीबारे पनि आज नै मतदान हुनेछ। यसका लागि भर्खरै प्रक्रिया सुरु भएको छ।