शनिबार, साउन २३, २०८३

दादुरा-रुबेला : ७८ प्रतिशत बालबालिका मात्रै पूर्ण खोपकाे दायरामा

सरकारले दोस्रो चरणको दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ।
 |  आइतबार, चैत २, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २, २०७६

काठमाडौं- सरकारले दोस्रो चरणको दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ। दोस्रो चरणअन्तर्गत चैत १ गतेदेखि बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यो अभियान सञ्चालन भएको छ। दोस्रो चरण अन्तर्गत १३ लाख बालबालिकालाई खोप लगाइदैछ।

सरकारले नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाउने अभियान गत फागुनबाट सुरु गरेको हो।

पहिलो चरणमा फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाइएको थियो। पहिलो चरणमा १५ लाख भन्दा बढी बालबालिकालाई खोप लगाइएको परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक शर्मा गौतमले बताए।

सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सरकारले देशभरका १६ हजारभन्दा बढी खोप केन्द्र मार्फत् प्रत्येक वर्ष ६ लाख बालबालिकालाई विभिन्न ११ प्रकारका खोप दिँदै आएको छ।

नेपालमा सन् २०१९ सम्ममा दादुराको निवारण गर्ने लक्ष्य राखिए पनि त्यो पुरा हुन नसकेपछि विश्व स्वास्थ्य संगठनअन्तर्गत नेपालसहित दक्षिण पूर्वी एसियाली राष्ट्रले सन् २०२३ सम्ममा रुबेला र दादुरा उन्मुलन गर्ने प्रतिबद्धता जनाएका छन्। 

बालबालिकालाई जन्मेको पहिलो ९ महिना र १५ महिनामा गरी जम्मा दुइपटक दादुरा र रुबेलाको खोप दिनुपर्दछ।

तर नेपालमा ९ महिनामा पहिलोपटक लगाइने खोपको दर जम्मा ९० प्रतिशत रहेको गौतम बताउँछन्।

त्यस्तै दोस्रोपटक १५ महिनामा खोप लगाउने बालबालिकाको दर जम्मा ७० प्रतिशत छ। जसका कारण कारण दादुरा रुबेला शून्यमा आउन नसकेको उनी बताउँछन्। दादुरा रुबेला निवारणको लागि कम्तीमा पनि ९५ प्रतिशत बालबालिकाले खोप लगाउनुपर्ने हुन्छ।

दादुराबाट नेपालमा १ प्रतिशत बालबालिका खोपको दायरामा आउन नसकेको परिवार कल्याण महाशाखाले जनाएको छ। साथै २१ प्रतिशत बालबालिका अपूर्ण खोपको दायरमा छन् भने बाँकी ७८ प्रतिशत बालबालिकाले भने पूर्ण खोप पाएका छन्।

सरकारले यस वर्ष शत प्रतिशत बालबालिकालाई खोपको पहुँचमा ल्याउन अभियान सञ्चालन गरेको हो।

प्रकाशित: Mar 15, 2020| 13:07 आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्