काठमाडौं- बैंकिङ कसुरमा फरार रहेका जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
प्रहरीको व्यापक खोजी सूचीमा रहेका भेटवाल मंगलबार बिहान आफै महानगरीय प्रहरी परिसर, काठमाडौंमा पुगेर आत्मसमर्पण गरेको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार प्रहरीले आजै अनुसन्धानका लागि म्याद माग्न अदालतल लैजाने तयारी गरेको छ ।
बैंकिङ कसुरमा फरार रहेका भेटवाल भारतका विभिन्न ठाउँमा लुक्दै आएका थिए । ७५ लाख १० हजार रुपैयाँ बराबरको बैंकिङ ठगी कसुरमा भेटवालविरुद्ध पाटन उच्च अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो।
काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल अदालतले पक्राउ गर्न आदेश दिएपछि भागेर भारत पुगेका थिए । उनी फरार भएसँगै भ्यू टावरको काम अलपत्र पर्दै आएको छ ।
उनले खुलामञ्चमा अवैध रुपमा सटर निर्माण गरेर पैसा असुलेका थिए। भेटवाल यसअघि तत्कालीन एपेक्स बैंकका कर्मचारीको मिलेमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको अभियोगमा पनि पक्राउ परेका थिए।