काठमाडौं– विश्वव्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देखाई नेपालको प्रमुख श्रम गन्तव्यमध्ये एक कतारले नेपाली श्रमिकलाई अस्थायी प्रतिबन्ध लगाएको छ।
कतारको सञ्चार कार्यालयले सोमबार सूचना जारी गर्दै नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।
यो निर्णयसँगै भिसा लागेर उड्ने तयारीमा रहेका र बिदामा घर फर्किएका नेपाली कामदार तत्काल जान नपाउने भएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो ४ महिनामा १२ हजार २७४ जनाले कतार जान नयाँ श्रम स्वीकृति लिएका छन्।
कतारमा साढे चार लाख नेपाली श्रमिक रहेको विभागको तथ्यांक छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो चार महिनामा कतारबाट ५३ अर्ब ९३ करोड रेमिटेन्स भित्रिएको छ।
रेमिटेन्स भित्रिनेमा कतार पहिलो स्थानमा छ। त्यसपछि क्रमशः भारत, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरबिया र मलेसिया छन्।
चालु आवमा कतारले नेपाल भित्रिने रेमिटेन्सको १७.७ प्रतिशत हिस्सा ओगटेको छ। कोरोनाको फैलावट, उपचार तथा रोकथाममा लाग्ने समय हेर्दा कतारको अस्थायी प्रतिबन्ध छिटो खुल्ने देखिँदैन।
कतारले पेट्रोलियम निर्यातमा निर्भरता कम गर्दै व्यापार, पर्यटन र निर्माण क्षेत्रतर्फ लगेको छ।
सन् २०२२ मा हुने विश्वकप फुटबलले गर्दा पनि अहिले कतारमा निर्माणका गतिविधि बढिरहेका छन्। त्यसैले त्यहाँ कामदारको खाँचो छ।
नेपालले कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेसियासँग श्रम सम्झौता गरेको छ।
नेपालमा कोरोना संक्रमण नफैलिए पनि हाम्रो मुलुकको सामथ्र्य, तयारी, अन्तर्राष्ट्रिय विमानस्थलमा अपनाइएको सुरक्षा लगायत विश्लेषण गरेर कतारले प्रतिबन्ध लगाएको हो।
अन्य खाडी मुलुकले पनि प्रतिबन्ध लगाए भने नेपाली अर्थतन्त्र थला पर्नेछ। नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुक नै हुन्।
चालु आवको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुका गएका छन्।
गत वर्ष ११० देशबाट आठ खर्ब ७९ अर्ब रेमिटेन्स भित्रिएको छ।
यसको १८ प्रतिशत कतारबाट मात्रै आएको छ। जुन नेपालजस्तो सानो अर्थतन्त्र र आयात बजारमा निर्भर मुलुकका लागि ठूलो रकम हो।
रेमिटेन्सका रुपमा भित्रिने रकमले नेपालीको क्रयशक्ति बढाउनेदेखि स्वास्थ्य, शिक्षा लगायत परिवारको जीवनस्तर उकास्न पनि योगदान गर्दै आएको छ।
लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको रेमिटेन्स आप्रवाहमा कमी आएमा यी सूचकमा प्रतिकूल असर पर्ने निश्चित छ।