बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चिलिमे-त्रिसूली प्रसारण लाइन निर्माणलाई तिब्रता दिने सहमति

चिलिमे-त्रिसूली प्रसारण लाइन निर्माणलाई तिब्रता दिने सहमति

रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं - रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तिब्रता दिने सहमति भएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिब्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ।

टोलीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ पहिरेबेसीमा निर्माणाधीन त्रिसूली ३ बी हब सबस्टेसन, कार्यालयमा निर्माणामा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत निरीक्षणमा गएको थियो। आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरुको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ।

सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन, चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमश: ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्ने छ।

ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेश भएका विलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुंग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने छन्। चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको छ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने बताए।

‘तीन वटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्, अहिलको गतिमा प्रसारण लाइन र सबस्टेसनको निर्माण सक्नै धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन, त्यसैले निर्माणलाई तिब्रता दिनुहोस्। हैन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिड्नुहोस्,’उनले भने।

‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्ने छौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनु पर्ने छ।’, उनले भने ।

ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ।

प्रकाशित: Mar 09, 2020| 08:00 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्