काठमाडौं– आइतबारमात्रै काठमाडौं ओर्लिएका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले दुई दिनमै सात जना नेतालाई भेटिसकेका छन्।
विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाए लगत्तै क्वात्राले राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन्।
विहिबार क्वात्राले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग भेट वार्ता गरेका थिए। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पनि उनले विहीबार नै भेटे।
भोेलिपल्ट शुक्रबार उनले नेकपा नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग उनकै निवासमा भेटवार्ता गरे।
त्यसपछि उर्जामन्त्री वर्षमान पुनसँग भेटे। मन्त्री पुनसँगको भेटमा उनले विद्युत् प्रशारणलाइनका विषयमा चर्चा गरेका थिए।
शुक्रबार नै क्वात्राले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगे।
उनको गति, छरितो ज्यान र हाउभाउ पूर्व राजदूत मञ्जीवसिंह पुरी भन्दा निकै फरक देखिन्छ।
क्वात्राको यो गतिले दुई देशवीचको सम्वन्धमा नयाँ आयाम ल्याउने हो वा पहिले भन्ने गरिएजस्तो ‘हस्तक्षेपकारी’ बनाउने हो आउँदा दिनमा थाहा हुने नै छ।