बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली अर्थतन्त्रमा कोरोनाको असर ०.१३ प्रतिशतः एडीबी

नेपाली अर्थतन्त्रमा कोरोनाको असर ०.१३ प्रतिशतः एडीबी

कोरोना भाइरस (कोभिड–१९) ले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने एशियाली विकास बैंक (एडीबी)ले प्रारम्भिक आकलन गरेको छ ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

कोरोना भाइरस (कोभिड–१९) ले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने एशियाली विकास बैंक (एडीबी)ले प्रारम्भिक आकलन गरेको छ । एडीबीले आज (शुक्रबार) सार्वजनिक गरेको तथ्यांकअनुसार यसको प्रभाव एशियन मुलुकहरूमा झन् बढी पर्नेछ ।

परनिर्भरता, न्यून आर्थिक तथा पर्यटकीय गतिविधि, आन्तरिक उत्पादनको कमीलगायत कारणले एशियाली मुलुकले बढी क्षति व्यहोर्ने एडीबीले जनाएको छ ।

ठूला अर्थतन्त्र भएका मुलुक प्रभावित हुँदा साना देशमा स्वतः प्रभाव पर्ने तथ्यांकमा उल्लेख छ ।

चीनबाट फैलिएको र सबैभन्दा बढी मानवीय क्षति पनि भएकोले आर्थिक क्षति पनि चीनमा बढी हुनेछ । अहिलेसम्मको अवस्थाको अध्ययनले चीनले १०३ अर्ब डलर बढीको क्षति व्यहोर्ने अनुमान गरिएको छ । यो चीनको कुल गार्हस्थ्य उत्पादनको ०.८५ प्रतिशत हो। विश्व अर्थतन्त्रले करिब ३४७ अर्ब डलर बराबरको क्षति व्यहोर्ने जनाइएको छ, जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशत हो ।

हालसम्म कोरोनाको संक्रमण नदेखिएको भए पनि व्यापारमा आधारित अर्थतन्त्र भएको कारणले नेपालले पनि क्षति व्यहोर्ने अनुमान गरिएको छ ।

अहिलेकै अवस्थाले नेपालको पर्यटन, व्यापार, निर्माण तथा सार्वजनिक सेवामा क्षति पुग्नेछ । नेपालमा अधिकतम ०.१३ प्रतिशतसम्म क्षति पुग्ने एडीबीको प्रक्षेपण छ ।

त्यस्तै भारतमा ०.०२, पाकिस्तान र बाङ्लादेशमा ०.०१, भुटानमा ०.०४ र माल्दिभ्समा २ प्रतिशत क्षति पुग्नेछ ।

प्रकाशित: Mar 06, 2020| 08:10 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्