बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेलमा पनि कोरोनाको त्रास, अस्थायी रिहा गर्न कैदीको माग

जेलमा पनि कोरोनाको त्रास, अस्थायी रिहा गर्न कैदीको माग

कोरोनाको त्रास फैलिएपछि कैदी बन्दीले केही समयका लागि भए पनि रिहाइका लागि सरकारसँग माग गरेका छन्।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– कोरोनाको त्रास फैलिएपछि कैदी बन्दीले केही समयका लागि भए पनि रिहाइका लागि सरकारसँग माग गरेका छन्। रिहाइ अवधिमा घरनजिकैैको प्रहरी कार्यालयमा हाजिर हुने उनीहरूको भनाइ छ।

क्षमताभन्दा बढी कोचिएर बस्नुपर्दा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएका कारण चिन्ता बढेको उनीहरू बताउँछन्।
मुलुकका सबै कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदी बन्दी छन्।

‘रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले एक व्यक्तिमा भाइरस संक्रमण देखिए धेरै प्रभावित हुन सक्छन्’, डिल्लीबजार कारागार रहँदै आएका काभ्रेका प्रेम राईले भने।

कारागारभित्र एकै ठाउँमा धेरै जना सुत्नुपर्ने भएकाले एक जनामा संक्रमण देखिए एकै रातमा सबैमा सर्न सक्ने उनको भनाइ छ।

राईले भने, ‘राति सुत्दा कसैको टाउकोमाथि कसैको खुट्टा हुन्छ। कसैको खुट्टामाथि कसैको टाउको हुन्छ। एक जनाले हाच्छ्यूँ गर्दा अर्कालाई पर्न सक्छ। यस्तो अवस्थामा कोरोना आयो भने के होला?’

यस्तै समस्या छ नख्खु कारागारमा पनि। कारागारमा भेटिएका सिन्धुपाल्चोकका महेश थापाले भने, ‘पाँच सय मिटरभित्र सयौं बसेका छौं। जेलभित्र वर्षौंदेखि बसेकाले हाम्रो रोग प्रतिरोधक क्षमता कमजोर छ।’ सामान्य रोगले पनि जोखिम निम्त्याउन सक्ने उनी बताउँछन्।

नख्खु कारागारका थापाले आफूहरूको जीवनरक्षाका लागि सरकारले अस्थायी रुपमा भए पनि रिहा गर्नुपर्ने बताए।

कोरोना भाइरस संक्रमण बढेपछि इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कैदी बन्दी धेरै रहेका जेलमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्नका लागि इरानले अस्थायी रुपमा कैदीलाई रिहा गरेको हो।

डिल्लीबजार कारागारका राईले आफूहरूको उचित व्यवस्थापन हुनुपर्ने बताए। घरनजिकैको प्रहरी कार्यालयमा हाजिर गर्न मिल्ने गरी रिहा गर्नुपर्ने उनको माग छ।

जोखिमबाट बच्न के गरिँदै छ?

डिल्लीबजार कारागार गेटमा आगन्तुकको हातमा सेनिटाइजर लगाइन्छ। कारागारभित्र नियमित स्वास्थ्य परीक्षण भइरहेको छ। कैदी बन्दीलाई भेट्न जानेले पनि अनिवार्य रूपमा मास्क लगाउनुपर्छ।

बिहीबार दिउँसो नख्खु कारागारमा भेटघाट गर्नेको भीड पातलो थियो। कारागार प्रशासनका अनुसार केही दिनयता कैदी बन्दीलाई भेटघाट गर्न जानेको कमी भएको छ। यस्तै भेटघाटमा कडाइ गरिएको छ।

पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालका विभिन्न जेलमा २५ हजार १ सय ४७ कैदी बन्दी छन्। तीमध्ये विदेशीको संख्या एक हजार २ सय ६५ छ।

के गर्दैछ सरकार ?

कारागार व्यवस्थापन विभागले कैदी बन्दीहरुको स्वास्थ्यमा ध्यान दिइरहेको जनाएको छ।
विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले विभागमा शुक्रबार बसेको बैठकले कैदीबन्दीहरुको स्वास्थ्यमा थप सुरक्षा अपनाइने निर्णय भएको बताए।

उनले भने, ‘कैदी बन्दीका विषयमा हामी सचेत छौं। उहाँहरुको स्वास्थ्यमा ध्यान दिने विषयमा थप निर्णय लिएका छौं।’
उनका अनुसार भेटघाटमा कडाइ गरिएको छ।

भेट्न जानेलाई पनि स्वास्थ्य परीक्षण गरेर जान दिने व्यवस्था मिलाउन जेलहरुलाई निर्देशन दिने तयारी भएको उनले बताए।
सरकारले कैदी बन्दीहरुलाई अस्थायी रुपमा रिहा गर्ने निर्णय गरे कार्यान्वयन गर्न तयार रहेको पनि महानिर्देशक श्रेष्ठले बताए।

क्षमताभन्दा तेब्बर कैदी बन्दी

नेपालमा कुल कारागारको संख्या ८३ छ। अधिकांशमा क्षमताभन्दा तेब्बरसम्म कैदी छन्।

‘कारागारको भौतिक र व्यवस्थापकीय पक्ष सुधार कार्यदलको प्रतिवेदन २०६८’ ले कारागारको क्षमताभन्दा कैदीको संख्या निकै बढी भएकाले सुधारका लागि सुझाव दिएको छ। तर, सुधार प्रयास भएको छैन।

क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कैदीबन्दीमा विभिन्न समस्या देखिएको प्रतिवेदनले सुझाएको छ। सँगै कार्यदलले कारागारहरु सुधारका लागि सुझाव दिएको छ।

काठमाडौंको डिल्लीबजारलगायत २८ वटा कारागार मर्मत गर्न सुझाव दिइएको थियो। यीमध्ये १७ वटाको क्षमता विस्तार र ११ वटा निर्माण गर्नुपर्छ। कार्यदलले खुला कारागारको व्यवस्थापन गर्न सुझाव दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।

प्रकाशित: Mar 06, 2020| 07:19 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।