सुर्खेत - गत माघ १० गते सुर्खेतबाट ८ लाख घुससहित पक्राउ परेका जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले २५ लाख ५० हजार रुपैयाँ घुस लिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यक्ष केसीले विभिन्न समयमा २५ लाख ५० हजार घुस लिएको पुष्टि भएको जनाएको छ। उनले नगद, बैंक खातामा जम्मा गर्न, विभिन्न होटलमा तिर्न र गाडी रिजर्भको भाडा तिर्न लगाएर २५ लाख ५० हजार घुस लिएको अनुसन्धानमा खुलेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
२५ लाखबढी घुस लिएको पुष्टि भएपछि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष केसी र सोही गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरी सेवाग्राहीसँग घुस लिएको जनाइएको छ।