काठमाडौं- बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजुलाई प्रहरीले पक्राउ गरेको छ।
एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीको खोजीमा रहेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले लुकिछिपी बसेको अवस्थामा भक्तपुरबाट बुधबार पक्राउ गरेको हो।
ललितपुर परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले खिउजुलाई बेलुकी ४ बजेतिर पक्राउ गरेको जानकारी दिए। उनलाई बिहीबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइने राईले जानकारी दिए।
गत मंसिरमा प्रहरी सेवाबाट राजीनामा दिएका खिउजुमाथि ललितपुर, चापागाउँ वृत्तको कार्यालयमै चारित्रिक प्रमाणपत्र बनाउन आएकी सेवाग्राही युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।
वृत्त प्रमुख रहेका खिउजुले चारित्रिक प्रमाणपत्र बनाउन जाँदा २०७५ माघ ३० गते बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन्।