काठमाडौं– डा. युवराज खतिवडाले मन्त्रीको रुपमा पुनः शपथ ग्रहण गरेका छन्। मन्त्री खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज नै खतिवडालाई मन्त्री नियुक्त गरेकी थिइन्।
खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् । संविधानअनुसार खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।
राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएकै दिन हिजो खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए।
नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनीत कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ।
तर प्रधानमन्त्री ओलीले सो सिफारिस अस्वीकार गरेका छन्।