जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरुष बढी महिला इमान्दार हुनेगरेको भन्दै प्रदेश २ मा चाँडै महिला प्रशासकहरु हुने बताएका छन् । प्रदेश सरकारले लोकसेवा आयोगमार्फत पदपूर्ति गर्न महिलाहरुलाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेकोले प्रदेश २ मा चाँडै महिला प्रशासकहरु भर्ना हुने राउतले उल्लेख गरेका छन् ।
जनकपुरमा बुधबार आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढिकरण परियोजनासम्बन्धी प्रदेशस्तरीय कार्याशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
राउतले महिला कर्मचारी बढी भएको खण्डमा महिलाहरुमाथि लिङ्गको आधारमा हुने हिंसासमेत अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । ‘प्रदेश लोकसेवाले महिलाको लागि ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ, प्रदेशमा चाँडै महिला प्रशासकहरु हुनेछन्, महिला प्रशासक र कर्मचारीमार्फत पीडितले न्याय पाउनेमा म विश्वस्त छ,’ राउतले भने ।
छोरी बोझ रहेको मानसिकता त्याग गर्नुपर्ने अहिलको आवश्यक्ता रहेको भन्दै राउतले यहि सोचका साथ प्रदेश सरकारले छोरी जन्मे लगत्तै तीन लाख रुपैयाँको बीमा कार्यक्रम प्रदेशमा सुरु गरेको जनाए । शिक्षामा छोरीहरुको पहुँच बढाउन प्रदेश सरकार विभिन्न गैरसरकारी संघसंस्थाहरुको सहयोग र सहकार्यका साथ अघि बढ्ने राउतको भनाइ थियो ।