काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) ६८.४७ अंकले ओरालो लागेर १४४१.२० अंकमा अडिएको छ। गत हप्ता लगातार उच्च अंकका साथ उकालो लागेको बजार यो साता भने ओरालो लागिरहेको छ ।
सोमबार ९४ अंकले ओरालो लागेको बजार मंगलबार १४ अंकले उकालो लागेको थियो । आज भने फेरि घटेको छ ।
हिजो अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका कारण बजारले केही राहत महसुस गरे पनि आज उनी पुनः नियुक्त भएसँगै बजार ओरालो लागेको विश्लेषण गरिएको छ।
सेयर बजारप्रति अर्थमन्त्री खतिवडाको धारणा नकारात्मक रहेको लगानीकर्ताले बताउँदै आएका छन्। आज सबै समूहगत परिसूचक ओरालो लागेको छ । बुधबार बैंकिङ ६०.९७, ट्रेडिङ २.९७, होटल्स ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जिवन बीमा ४०६.९५, उत्पादनमूलक ८८.६७, अन्य २८.५, लघुवित्त १४८.२५, जीवन बीमा ४५६.९६ र म्युचुअल फन्ड ०.२ अंकले ओरालो लागेको छ।
ओरालो लागेको बजारमा पनि सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, लक्ष्मी भ्यालु फन्ड–एक लगायत ९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाँकी कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, हिमालय डिस्टिलरी लगायतका कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।