शनिबार, असोज १७, २०८३

सेयर बजारमा उतारचढाव जारी, मंगलबार ४४ अंकको पहिरो

यस साता सेयर बजारमा उतारचढाव आइरहेको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– यस साता सेयर बजारमा उतारचढाव आइरहेको छ। आइतबार १०८ अंकले ओरालो लागेको बजार सोमबार १६२ अंंकले उकालो लाग्यो। तर मंगलबार भने बजार ४४.१८ अंकले घटेर २९३६.६१ अंकमा अडिएको छ। 

बजारमा यसरी उतारचढाव आउनुमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रीको मुख्य हात रहेको विश्लेषकहरुको दाबी छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकिदिएपछि ओरालो लाग्न थालेको बजारले आइतबार निरन्तरता पाएको थियो। तर एकैदिन १०८ अंकसम्म ओरालो लागेपछि अत्तालिएका लगानीकर्ताले अर्थमन्त्री गुहारे।

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर धितो कर्जामा मौद्रिक नीतिले गरेको व्यवस्था लागू नगर्न निर्देशन दिएको समाचार आएसँगै सोमबार एकैदिन १६२ अंकले बजार बढेको थियो। 

तर मंगलबार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लागेको सीमा तत्काल परिवर्तन नगरिने स्पष्ट पारेपछि पुनः बजार घटेको हो। यसबाट के पुष्टि हुन्छ भने लगानीकर्ता कम्पनीको वित्तीय विवरण विश्लेषण नगरी हचुवाको भरमा लगानी गरिरहेका छन्। 

मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। दिनभर ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। आइतबार ११ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएकोमा सोमबार साढे ९ अर्बमा सीमित भएको थियो। 

मंगलबार सबैभन्दा बढी सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। सबैभन्दा बढी गुमाउनेमा आरएमडीसी लघुवित्तका लगानीकर्ता छन्। 


प्रकाशित: Sep 07, 2021| 15:41 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्