जनकपुरधाम– नेपाल टेलिकम जनकपुरका प्रमुखमाथि दुर्व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् । टेलिकम जनकपुर शाखाका प्रमुख चिन्मय आनन्दमाथि दुर्व्यवहार गरेको भन्दै सोही शाखामा कार्यरत छैटौँ तहका कर्मचारी दुखमोचन चौधरीलाई कारबाही गर्न कर्मचारीहरुले माग गरेका हुन् ।
टेलिकमका कर्मचारीहरुले जनाएअनुसार चौधरीले बुधबार बिहान कार्यालय प्रमुख चिन्मय आनन्दको कार्यकक्षमा प्रवेश गरी अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेका थिए । यसअघि पनि कार्यालय प्रमुखलाई दुर्व्यवहार गरेका चौधरीलाई कारबाही हुनुपर्ने मागसहित आफूहरुले कामकाज ठप्प पारेको टेलिकमका कर्मचारीहरुले बताएका छन् ।
केही दिनअघि कार्यालय प्रमुखलाई दुर्व्र्यवहार गरेको भन्दै चौधरीविरुद्ध कर्मचारीहरुले खेद प्रस्तावसमेत पारित गरेका थिए ।
कार्यालय प्रमुख आनन्दले आफू कार्यकक्षमा बसिरहेको बेला भित्र प्रवेश गरेर चौधरीले अपशब्द प्रयोग गर्नुका साथै हातपातको प्रयाससमेत गरेका बताएका छन् ।
यसअघि कार्यालय प्रमुखलाई दुर्व्र्यवहार गरेका चौधरीलाई विभागले कारबाही नगरी उल्टै दश दिन काठमाडैंमा तालिमको लागि भन्दै पठाएको थियो । तालिममा सहभागी हुन जहाज काठमाडौं गएका चौधरीले कार्यालय प्रमुख आनन्दसँग कार्यालयबाट भाडा स्वीकृत गर्न भनेका थिए ।
तर, आफूलाई दुर्व्र्यवहार गरेको र कारबाही नगरेर तालिममा काठमाडौं बोलाइएका चौधरीको भाडा स्वीकृत गर्न नमानेपछि उनले कार्यालय प्रमुख आनन्दमाथि दुर्व्यवहार गरेको बताइएको छ ।