काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्ले र लेखा अधिकृत ध्रुबराज गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुले सुनौला खिम्ती–अजम्बर–शिवराम जेभी चरिकोट, दोलाखासँग जलुके–विजयनगर खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता गर्दा २ करोड २ लाख ७३ हजार रुपैयाँ अनियमिता गरेको अख्तियारको आरोप छ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार आयोजनाको निर्माण कार्यको ठेक्का सम्झौता तथा मोविलाइजेशन पेश्की लिने प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलिखेलबाट जारी गरिएको रकमको कार्यसम्पादन जमानत रु.१ करोड ५८ लाखको अग्रिम भुक्तानी बैंक जमानत नक्कली रहेको फेला परेको छ।
यसबारे परेको उजुरीमाथि अनुसन्धान गर्दा सुनौला खिम्ती–अजम्बर–शिवराम जेभीका जेभी पार्टनरहरु शिवजी सापकोटा, वैकुण्ठ प्रसाद भण्डारी, धर्मराज भण्डारी र राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका शाखा प्रबन्धक राजु प्रसाद ढकालसमेतको मिलेमतो भएको प्रमाणित भएको अख्तियारले जनाएको छ।
साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख काफ्ले र लेखा अधिकृत गौतमले कम्पनीका प्रतिनिधि तथा सञ्चालकहरुसँग मिलेमतो गरी रकम हानीनोक्सानी पुर्याउने र आफूले लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेन्टी गरी अनिमितता गरेको तथा बैंकका शाखा प्रबन्धक ढकालले दुबैतर्फका व्यक्तिहरुसँग मिलेमतो गरेको अख्तियारले जनाएको छ। सबै ६ जनाविरुद्ध विगोसहित रु. २ करोड २ लाख ७३ हजार माग दाबीसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।