संसारका ६६ मुलुकमा फैलिसकेको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ। चीनको वुहानबाट फैलिएको कोरोना अहिले दक्षिण कोरिया, इरान, जापान, इटालीलगायत धेरै मुलुकमा पुगिसकेको छ ।
कोरोना फैलिएको सबै देशमा नेपालीहरु पनि छन्। केही समयअघि वुहानमा रहेका १७५ जना नेपालीहरुलाई सरकारले उद्धार गरेको थियो। उनीहरु दुई हप्ताको क्वारेन्टाइनपछि घर फर्किसेका छन् ।
कोरिया, जापान तथा खाडी मुलुकमा पनि लाखौंको संख्यामा नेपालीहरु छन्। कोरोनाको त्रासले सबैलाई छोएको छ। कोरोना संक्रमण फैलिएको मुलुकका नेपालीको अवस्था के छ भनेर हामीले केह नेपालीहरुलाई सोधेका छौं ।
आशिका अधिकारी, थेचेन (दक्षिण कोरिया)
हामी बसेको ठाउँमा सुरक्षित छौं हामी । यहाँको प्रशासनले भीडभाड गर्न कडाइ गरेको छ । प्रशासनका मान्छेहरु गाउँटोलमा कोरोना संक्रमणबाट बच्ने उपायबारे माइकिङ गर्दै हिँडिरहेका छन्। विगतमा छुट्टीका बेला हिँडडुल गर्न पाइन्थ्यो। अहिले त्यतिसारो घुम्न पाइँदैन ।
कोरियामा थेगु सहरमा चर्चाबाट संक्रमण फैलिन थालेको हो । हामीलाई कोरियास्थित नेपाली राजदूतावासले पनि केही दिनअघि सजगता अपनाउन आग्रह गरिसकेको छ । यहाँ हामीलाई भन्दा नेपालको चिन्ता छ । यहाँ त पर्याप्त पूर्वतयारी गरिएको छ । बाटो–बाटोमा औषधि छर्किएको छ ।
कोरियामा ४५ हजार नेपाली रहेको राजदूतावासको तथ्यांक छ । गैरकानुनी रुपमा पनि यहाँ धेरै नेपाली छन् । कोरोनाकै त्रासका कारण नेपाल फर्कन मन लागेको छैन । किनभने यहाँ उपचारका लागि राम्रो व्यवस्था गरिएको छ । त्यसैले मलाई त नेपालकै चिन्ता छ । संक्रमण भइहालेका कसरी उपचार गर्ने होला ?
हरि आचार्य, दोहा (कतार)
यहाँको समग्र माहोल हेरेर मात्र नेपाल फर्कने वा नफर्कने निर्णय हुन्छ । नेपाली दूतावासले भीडभाडमा नजान, सेमिनार र अन्य औपचारिक कार्यक्रम नगर्न तथा मास्क लगाएर मात्र हिँड्न आग्रह गरेको छ ।
यहाँको सरकारले पनि कडाइ गरेको छ । सबै मानिस सजग छन् । सबै संवेदनशील छन् । हामी पनि यहाँको सरकार र नेपाली दूतावासको निर्देशन मान्दै आएका छौं । त्यसैले हामीलाई यहाँ केही चिन्ता छैन । हामीलाई नेपालकै चिन्ता छ । कोरोना संक्रमण भइहालेमा कसरी उपचार होला ?
मनिसा भण्डारी, टोकियो (जापान)
कोरोनाको त्रास यहाँ पनि छ । सबै स्कुलहरु सरकारले नै बन्द गरेको छ । कम्पनीहरुमा पनि सुरक्षा संवेदनशीलता अपनाइएको छ। २० प्रतिशत जति त घरबाटै काम गर्छन् । शंका लाग्नेबित्तिकै घरबाटै काम गर्न अनुमति दिन्छ कम्पनीले । सुरक्षाको लागि पर्याप्त सावधानी अपनाइएकाले त्यस्तो डर छैन । अहिलेसम्म नेपाली कसैमा पनि संक्रमण देखिएको छैन ।
नेपालमा पनि मानिसहरु अस्पताल भर्ना भएको समाचार आइरहेको छ । हामीलाई नेपालमा रहेका आफन्तको पनि उत्तिकै चिन्ता छ। मास्क, स्यानिटाइजरको अभाव छ रे भन्ने सुनेका छौं ।
अमेरिकाको क्यालिफोर्नियामा रहेका एक नेपालीले डराउनुपर्ने अवस्था नरहेको बताए । ‘यहाँ कोही पनि त्रसित छैन । सरकारले पर्याप्त सावधानी अपनाएको छ । अनावश्यक हिँडडुल नगर्न भनिएको छ । पर्याप्त सूचना दिएको छ । सरकारले आश्वस्त पारेको छ, नर्मल फ्लु हो, डराउनु पर्दैन भनेर । प्रभावित क्षेत्रका रोजगारदाताले कर्मचारीलाई घरमै बसेर काम गर्न अनुमति दिएका छन्,’ उनले भने ।