काठमाडौं– नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ ।
सो जहाजको उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने क्षमता रहेको जनाइएको छ। सो एयरलाइन्सले आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो।
क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार राति अवतरण गराएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।
सो कम्पनीसँग तीन एअरबस ए ३२०–२१४ र एक एयरबस ए ३१९–११५ गरी चारवटा जहाज भएका छन्। एयरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो। एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो, जसले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ।
कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ। यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यमा उडान भर्नेछ।
सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो उपस्थिति बढाउँदै गएको छ। एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीको सञ्चाल विस्तार र नयाँ रुटहरू सञ्चालन गर्ने रणनीतिअनुरुप जहाज थपिएको बताएको विज्ञप्तिमा जनाइएको छ। उनले हिमालयलाई देश र मध्यपूर्वी क्षेत्रकै उत्कृष्ट एयरलाइन्सका रूपमा स्थापित गर्ने योजनाअनुरुप सन् २०२१ सम्म ए ३१९ का दुई जहाज थपिने बताए।
एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुंगा भएको बताए।
एयरलाइन्सले सन् २०१६ मे ३१ बाट ए ३२०–११४ सिरिजको १५८ सिट क्षमताको जहाजका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो। चार वर्षको अन्तरालमै एअरलाइन्सले ६ देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ। एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुइयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ।
रासस