काठमाडौं– कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन्। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो। कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ।
सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिए। ‘हड्तालजन्य कामहरू हुने वातावरण नहोस्। कोष मर्यादित रूपमा सञ्चालनमा आओस्,’ उनले भने।
यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त थियो।