काठमाडौं - साताको सुरुको दिन करिब ७० अंकले बढेको सेयर बजार सोमबार झिनो अंकले ओरालो लाग्दा अब फेरि घट्छ की भनेर डराइरहेका लगानीकर्ता आज (मंगलबार) पुन: उत्साहित भएका छन्। आज सेयर बजार ४३.०२ अंकले बढेर १५४५.१९ अंकमा अडिएको छ।
सोमबारको तुलनामा मंगलबार कारोबारमा भने गिरावट आएको छ। सोमबार ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको बजार मंगलबार २ अर्ब ९९ करोडको मात्र कारोबार भएको नेप्सेले जनाएको छ। यसदिन सम्पूर्ण समूहगत परिसूचक पनि बढेको छ। मंगलबार बैंकिङ १२.८९, कारोबार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत ४६.५१, फाइनान्स १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादनमूलक ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९, म्यूचुअल फन्ड ०.०९ अंकले उकालो लागेको छ।
यसदिन सबैभन्दा बढी कारोबार हुनेमा हिमालय डिष्टीलरी १६ करोड ३३ लाख, नेपाल लाइफ इन्स्योरेन्स १४ करोड ३६ लाख, शिखर इन्स्योरेन्स १० करोड ६५ लाख रुपैयाँ रहेको छ।
यसदिन गुँरास लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र स्वदेशी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन्। यसदिन ति कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन्। मंगलबार सबैभन्दा बढी गुमाउनेमा दिव्यश्वरी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्सलगायतका लगानीकर्ता रहेका छन्।