शनिबार, असोज १७, २०८३

अर्गानिक चिया प्रवर्द्धन गर्न १७ करोडको परियोजना

उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने इलामलाई लक्षित गरेर सरकारले पहिलोपटक किसान केन्द्रित प्रवद्र्धन परियोजना सुरु गर्ने भएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने इलामलाई लक्षित गरेर सरकारले पहिलोपटक किसान केन्द्रित प्रवद्र्धन परियोजना सुरु गर्ने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती हुने जिल्लाहरुमा परियोजना सञ्चालन गर्न १७ करोड रुपैयाँ विनियोजन गरेको हो।

‘३ वर्षे परियोजनाको खाका बनेको छ,’ बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले भने, ‘परियोजना साना किसानहरुमा केन्द्रित रहने छ। ’उनले परियोजनाको मुख्य उद्देश्य नेपालको चिया विश्वबजारमा स्थापित गराउनु रहेको बताए। ‘उत्पादनको पहिलो केन्द्र किसानहरु भएकाले उनीहरुलाई नै सबल बनाउन परियोजनाका कार्यक्रम सञ्चालन हुनेछ,’ उनले भने ।उच्च गुणस्तरको अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने इलामलाई अर्गानिक अर्थोडक्स चियाको राजधानी मानिन्छ।

चियाका ट्रेसिङका चुनौती

विभिन्न निकाय तथा मार्ग हुँदै विश्व बजारमा पुगेको चियामा कुनै कमीकमजोरी देखिए नेपालको चिया बद्नाम हुन्छ। त्यसो हुनबाट बचाउन चियाको ‘मार्केट ट्रेसिङ’ गर्नुपर्ने हुन्छ। जसअन्तर्गत उपभोक्तादेखि विक्रेता हुँदै किसानसम्मको मार्ग ‘ट्रेसिङ’ गरिनेछ।

‘कुन चिया कुन व्यापारीमार्फत् बजारमा पुगेको हो। सो चिया कुन उद्योगले, कुन किसानले उत्पादन गरेको हो भन्ने पत्ता लगाउन र सूचना यद्यवधि गर्न मार्केट टेसिङले सहयोग पुर्याउँछ,’ बोर्डका कार्यकारी निर्देशक भट्टराईले भने । यसो हुँदा कुनै समस्या आएमा त्यसको समाधान गर्न सहज हुने उनी बताउँछन्।

अर्गानिक उत्पादनकलाई प्रवद्र्धन

परियोजनाले अर्गानिक चिया उत्पादक किसानहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालन गर्नेछ। ‘नेपालको अर्गानिक चियाले विश्वबजारमा प्रांगारिक उत्पादनका रूपमा राम्रो साख बनाएको छ,’ भट्टराईले भने, ‘परियोजनाको उद्देश्य नेपालको अर्गानिक चियाको साखलाई विश्वकै एक नम्बरको उत्पादनको रुपमा गुणस्तर कायम गर्नु तथा त्यसलाई निरन्तरता दिनु हो।

अर्गानिक प्रमाणीकरणमा किसान दुःख

इलाममा लामो समयदेखि उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन हुँदै आए पनि किसानहरुलाई आफ्नो उत्पादनको गुणस्तर प्रमाणीकरण गर्न ठूलै सकस छ। ‘एक त किसानका लागि गुणस्तरीय चिया उत्पादन गर्न गाह्रो छ,’ सूर्योदय नगरपालिका–३ का किसान खगराज घिमिरेले भने, ‘त्यसमाथि उत्पादनलाई अर्गानिक प्रमाणीकरण गर्न उस्तै गाह्रो र महँगो पर्छ।’व्यापारीहरुले इलामको चिया संकलन गरेर लेगर विभिन्न ब्राण्डमा विश्व बजारमा पुर्याइरहेका छन्। यसो गर्दा वास्तविक किसानले उत्यपादनको साखको लाभ लिन सकेका छैनन्। 




परियोजनाले सो समस्यालाई पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ। परियोजनाले अर्गानिक चिया उत्पादनका लागि आवश्यक सामग्री, तालिम, सचेतना, प्रोत्साहलगायत कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। साथै, अर्गानिक चियाको प्रमाणीकरणका लागि पनि सहयोग गर्नेछ। अर्गानिक चियाको उत्पादनको परिमाण र गुणस्तर दुवै बढाउने तथा नेपालको आन्तरिक बजार र अन्तर्राष्ट्रिय बजारमा चियाको खपत बढाउने क्रियाकलाप पनि गरिने निर्देशक भट्टराईले बताए।

‘रुस, चीन तथा युरेपेली मुलुकमा चियाको बजारका विस्तारको लागि जिटुजी गर्ने प्रयास हुनेछ,’ भट्टराईले भने, ‘चीनसँग जिटुजीका लागि खाका तयार भएर एक चरणको सहमति भइसकेको छ भने रुसमा सम्भाव्यता अध्ययन भइरहेको छ । रुसमा नेपाली ब्ल्याक टीको ठूलो बजारको सम्भावना छ।’

युरोपियन युनियनको सहयोगमा सञ्चालित यस परियोजनाले इलामलाई आधार मानेको छ। ‘इलाम अर्थोडक्स चियाको राजधानीसहर हो। त्यसैले मुख्य काम इलाममै केन्द्रित हुनेछ,’ भट्टराईले भने, ‘नेपाली चियाको ट्रेडमार्क पाएका अन्य जिल्लामा पनि यस परियोजनाले सहयोग गर्नेछ।’

‘नेपाल इन्क्रिज सस्टेनेवल टि एक्पोर्ट’ परियोजनाले अर्गानिक मल उत्पादनका लागिसमेत सहुलियत दिनेछ। जसले असल कृषि अभ्यास गर्ने, चिया टिप्ने, प्रशोधन, प्याकेजिङलगायत मेसिनमा सहुलियतजस्ता कार्यक्रम सञ्चालन गर्नेछ। ‘किसानलाई २५/२५ जनाको समूह बनाएर कार्यक्रम सञ्चालन गरिनेछ,’ भट्टराईले भने, ‘किसानले चियाको मौसमबारे जानकारी लिन इच्छा गरेमा त्यो सुविधासमेत दिने परियोजनाको लक्ष्य छ।’

बोर्डले मापदण्ड पुरा गरेका चिया किसान, उद्योगी र व्यापारीलाई ‘नेपाल टि क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको आधिकारिक ट्रेडमार्क प्रदान गर्दै आएको छ। बोर्डले गत वर्ष र अहिले १२/१२ उद्योग, किसान र व्यापारीलाई ट्रेडमार्क प्रदान गरेको छ। ट्रेडमार्क पाएपछि व्यापारमा सहज भएको उद्योगी र किसानको अनुभव छ। 




‘अर्गानिक चिया उत्पादन गर्न सजिलो छैन। धेरै मेहनत र परिश्रम गर्नुपर्छ,’ किसान घिमिरे भन्छन्, ‘तर उत्पादनको मूल्य र माग राम्रो भएकाले किसानहरु अर्गानिक उत्पादनमा उत्सुक भए पनि विदेशी बजारमा बेच्न चाहिने प्रमाणीकरण हामी किसनबाट मात्र हुन सम्भव छैन। यसमा बोर्डले सहजीकरण गर्नुपर्छ।’अर्गानिक चिया प्रमाणीकरण गनै झण्डै ८/१० लाख लाग्ने उनी बताउँछन्।

अस्ट्रेलियाको नेसनल एसोसिएसन फर सस्टेनेबल एग्रिकल्चर (नासा), स्विट्जरल्यान्डको इन्टरनेसनल मार्केटोलोजी अर्गनाइजेसन (आइएमओ) र जर्मनीको केरसलगायतका आधिकारिक निकायले नेपाली चियालाई अर्गानिक प्रमाणित गरिरहेको भट्टराईले बताए।

बोर्डले चिया खेती भएका जिल्लामा खेतीका लागि माटो परीक्षण, रोग–कीरा निदान, किसानलाई तालिम सञ्चालन गरिरहेको कामबाहेक परियोजनाको नयाँ कार्यक्रमले किसानहरुलाई सहयोग हुनेछ। नेपालको अर्गानिक चिया चीन, जापान, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड अमेरिका, चेक गणतन्त्र, स्लोभाकिया, अस्ट्रिया र युरोपका अन्य देशमा निर्यात हुने गरेको छ।

प्रकाशित: Sep 07, 2021| 09:10 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्