बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्रीले भने - उच्च आर्थिक वृद्धिका लागि विदेशी लगानी आवश्यक

अर्थमन्त्रीले भने - उच्च आर्थिक वृद्धिका लागि विदेशी लगानी आवश्यक

अर्थमन्त्री डा.युवराज खतिवडा नेपालले उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेकोले आन्तरिक लगानीले मात्र नपुग्ने बताएका छन्।
 |  सोमबार, फागुन १२, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १२, २०७६

काठमाडौं - अर्थमन्त्री डा.युवराज खतिवडा नेपालले उच्च आर्थिक वृद्धिदरको लक्ष्य राखेकोले आन्तरिक लगानीले मात्र नपुग्ने बताएका छन्।

सोमबारदेखि काठमाडौंमा सुरु भएको ‘लगानी वातावरण सुधार कार्यशाला’मा उनले नेपालको आन्तरिक लगानीले उच्च आर्थिक वृद्धिदरको लक्ष्य हासिल नहुने भएकोले बाह्य लगानी अनिवार्य रहेको भन्दै विदेशी लगानी भित्र्याउनका लागि सरकारले विभिन्न नीतिनियमहरु परिवर्तन गरिरहेको बताए।

उनले नेपाल विकासको पहिलो चरणमा रहेकोले प्रत्येक सुधारका कुराहरु स्वीकार्न कठिन भइरहेको बताउँदै अब अगाडि बढ्नुको विकल्प नरहेको र त्यसको लागि विदेशी लगानी अपरिहार्य रहेको स्पष्ट पारे।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्र हावी भएको बताउँदै अर्थमन्त्री खतिवडाले उनीहरुलाई व्यवसाय गर्ने सहज वातावरण बनाउनका लागि आफूले काम गरिरहेको बताए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर प्रशासन नियन्त्रणमुखी रहेको बताए। उनले भने,‘नेपालमा व्यवसायको लागत बढीरहेको छ, यो लागत घटेन भने विश्वबजारसँग नेपालको उद्योगले प्रतिष्पर्धा गर्न सक्दैन।’

सो कार्यक्रममा विश्व बैंकका कन्ट्री डाइरेक्टर फरिस एच हदाद जेर्भोसले नेपाल विगत लामोसमय द्वन्द्वमा फसेको र भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट पनि गुज्रिएर आएकोले अहिलेको आर्थिक वृद्धि मनासिव नै रहेको स्पष्ट पारे।

वर्कसप दुईदिनसम्म चल्नेछ। वर्कसपमा सरकारका उच्चस्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित: Feb 24, 2020| 17:52 सोमबार, फागुन १२, २०७६
प्रतिक्रिया दिनुहोस्