काठमाडौं– विश्वको अर्थव्यवस्थामा शिथिलतासँगै पछिल्लो समय विश्वभरका केन्द्रीय बैंक सुन किन्न थालेका छन्।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् २०१९ को पहिलो ६ महिनामा ३७४.१ टन सुन किनेका छन्। यसमध्ये २२४.४ टन पछिल्लो तीन महिनामा मात्र खरिद भएको हो।
काउन्सिलको यो तथ्यांकले विश्वभरका मुलुक पछिल्लो समय सुनप्रति आकर्षित भएको देखाउँछ।
पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रकोपले निम्त्याएको आर्थिक शिथिलताका कारण लगानीकर्ता सुनमा आकर्षित देखिएका छन्।
यस्तोमा कुन देशसँग कति सुन छ भन्नेमा आमचासो देखिएको छ।
काउन्सिलले गत वर्ष जारी गरेको प्रतिवेदनमा सुन धेरै भण्डारण गर्ने शीर्ष १० देशको सूची समावेश छ। जसको शीर्ष स्थानमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका छ। यसको शीर्ष १० मा एसियाका चीन, जापान र भारत छन्।
अमेरिका
विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्ने राष्ट्र अमेरिकासँग ८१३३.५ टन सुन छ। यो उसको कूल विदेशी भण्डारको ७६.९ प्रतिशत हो।
जर्मनी
धेरै सुन भण्डार गर्नेमा जर्मनी दोस्रो स्थानमा छ। काउन्सिलका अनुसार जर्मनीसँग ३३६६.८ टन सुन छ। यो उसको कूल विदेशी मुद्रा भण्डारमा ७३ प्रतिशत हो।
इटाली
विश्वमा सबैभन्दा धेरै सुन भण्डार गर्नेको तेस्रो स्थानमा छ, इटाली। काउन्सिलका अनुसार इटालीसँग २४५१.८ टन सुन छ। यो उसको विदेशी मुद्रा भण्डारको ६८.४ प्रतिशत हो।
फ्रान्स
धेरै सुन भण्डार गर्नेमा फ्रान्स विश्वको चौथो स्थानमा छ। काउन्सिलका अनुसार फ्रान्ससँग २४३६ टन सुन छ। यो उसको कूल विदेशी मुद्रा भण्डारको ६२.९ प्रतिशत हो।
रसिया
क्षेत्रफलमा विश्वको सबैभन्दा ठूलो देश रसिया धेरै सुन भण्डार गर्नेमा पाँचौं स्थानमा छ। काउन्सिलका अनुसार रसियासँग २२४१.९ टन सुन छ। यो उसको विदेशी मुद्रा भण्डारको २०.२ प्रतिशत हो।
चीन
विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन सुन भण्डार गर्नेमा छैटौं स्थानमा छ। काउन्सिलका अनुसार चीनसँग १९४८.३ टन सुन छ। यो उसको विदेशी मुद्रा भण्डारको २.९ प्रतिशत हो।
स्विजरल्याण्ड
सुन भण्डार गर्नेको सूचीमा स्विजरल्याण्ड सातौं स्थानमा छ। काउन्सिलका अनुसार स्विजरल्याण्डसँग १०४० टन सुन छ। यो उसको कूल विदेशी मुद्रा भण्डारको ६ प्रतिशत हो।
जापान
एसियाली राष्ट्र जापान सुन भण्डार गर्नेको सूचीमा आठौं स्थानमा छ। काउन्सिलका अनुसार जापानसँग ७६५.२ टन सुन छ। यो उसको विदेशी मुद्रा भण्डारको २.८ प्रतिशत हो।
भारत
कुनै समय ‘सोने की चिडिया’भनिएको भारत सुन भण्डार गर्नेमा विश्वको नवौं स्थानमा पर्छ। भारतसँग ६१८ टन सुन छ। यो उसको कूल विदेशी मुद्रा भण्डारको सात प्रतिशत हो।
नेदरल्याण्ड
नेदरल्याण्ड सुन भण्डार गर्नेको सूचीमा दसौं स्थानमा छ। काउन्सिलका अनुसार नेदरल्याण्डसँग ६१३ टन सुन छ। यो उसको कूल विदेशी मुद्रा भण्डारको ६८ प्रतिशत हो।