सांघाई– केही महिनाअघिसम्म सप्ताहन्तमा सांघाईको विश्वप्रसिद्ध नान्जिङ रोड व्यापारी र पर्यटकले भरिभराउ हुन्थ्यो। सांघाई चीनको समृद्ध वित्तीय केन्द्रमा रूपमा रहेको एउटा प्रमाण थियो त्यो। सांघाई चीनको सबैभन्दा ठूलो सहर र विश्वकै वित्तीय केन्द्र हो।
झन्डै साढे दुई करोड जनसंख्या रहेको यो सहरका मुख्य सडक र बजार सुनसान छन् अचेल। कोरोना भाइरसले देशका विभिन्न ठाउँमा २२ सयभन्दा बढीको मृत्यु भएपछि मानिस बाहिर निस्कन डराइरहेका छन्।
पसलमा ग्राहक प्रवेश गर्नेबित्तिकै पसले केही राहत महसुस गर्छन्। तर पसलमा नवागन्तुकको शरीरको तापक्रम परीक्षण गरेर मात्र प्रवेश दिइन्छ। वित्तीय उद्योग प्रबन्धक यना लीका अनुसार नयाँ वर्षका बेला सांघाई सहर प्रायः शान्त हुन्छ। मानिसहरू लामो छुट्टीमा परिवारसित रहेका हुन्छन्।
छुट्टी सकिएको दुई साता बितिसक्दा पनि सहर सुनसान छ। विगतमा यतिबेला बजारमा चहलपहल सुरु भइसक्थ्यो।
उनले भनिन्, ‘अहिले यहाँ अति कम मात्र मानिसको चहलपहल हुन थालेको छ। तपाईं बाहिर केही गर्न सक्नु हुन्न। साथीलाई भेट्न पाउनु हुन्न। सँगै खाना/खाजा खान पाउनु हुन्न । हरेक कुरामा प्रतिबन्ध लगाइएको छ।’
चीनका सरकार नियन्त्रित सञ्चारमाध्यमले भाइरस संक्रमण नियन्त्रणमा सफलता प्राप्त गरिरहेको भन्दै प्रशंसा गरिरहेका छन्।
सरकार नियन्त्रित ग्लोबल टाइम्स पत्रिकाले सोमबार केही साताको अवरोधपछि अब बिस्तारै आर्थिक गतिविधि चलायमान हुने भन्दै विभिन्न लेखको शृंखला नै प्रकाशित गरेको थियो।
चिनियाँ समाचार संस्था सिन्हवाले मंगलबार कोरोना भाइरसबाट संक्रमितध्ये पहिलोपटक धेरै संख्यामा उपचारपछि घर फर्किएको र संक्रमण दर पनि घट्दै गएको समाचार प्रकाशित गर्यो।
तर सरकारी सञ्चारमाध्यमको यस्तो उत्साहजनक टिप्पणी सांघाई जस्ता सहरमा प्रतिबिम्बित हुन सकेको छैन। जहाँ भाइरस संक्रमणको त्रासले दैनिक जीवनमा ठूलो असर गरिरहेको छ।
सांघाईमा हालसम्म ३३३ जनालाई भाइरस संक्रमण भएको छ। जसमध्ये दुई जनाको निधन भइसकेको छ। सहर यतिबेला किनारीकृत भएजस्तो देखिन्छ।
मुख्य रेल वे स्टेसनमा समूहमा हिँड्न पाइँदैन। स्वास्थ्यकर्मीले शरीरको तापक्रम मापन गरेपछि मात्र प्रवेश पाइन्छ। त्यो प्वाइन्ट पार गरेपछि यात्रीले फोनमार्फत एउटा क्यु आर कोड स्क्यान गर्नुपर्छ।
अनलाइन फाराम उपलब्ध हुन्छ। फाराम सोधिएको हुन्छ, तपाईं कहाँबाट कहाँ जाँदै हुनुहुन्छ ? तपाईंलाई ज्वरो आएको छ ? कोरोना संक्रमित प्रान्तबाट आएका रहेछन् भने उनीहरू अभागी ठहरिहन्छन्।
कारण उनीहरू १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्छ।
सांघाईका होटलहरूले ग्वांगडोंग र हुबेई प्रान्तबाट आएका पर्यटकलाई बास दिँदैनन्। ती दुई प्रान्तमा महामारी फैलिएको छ। होटलका स्टाफ आफैं सजगपूर्वक आगन्तुकको शरीरको तापक्रम परीक्षण गरिरहेका छन्।
सांघाईका एक होटल व्यवस्थापकले होटलको निगरानी व्यवस्था निकै प्रभावहीन भएको टिप्पणी गरे। नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मेलै देखेसम्म यो सबैभन्दा ढिलो प्रक्रियो हो। तर हामीले यो विशेष समयलाई पार गर्नैपर्छ ।’
मार्च २६ देखि अप्रिल २ सम्म तय भएको सांघाई फेसन सप्ताहको कार्यक्रम रद्द गरिएको छ। भाइरस संक्रमणको डरले सांघाईको डिज्नेल्यान्ड जनवरी अन्त्यदेखि बन्द छ।
रासायनिक उद्योगमा कार्यरत फेङ गाङगाङलाई सांघाईमा चहलपह घटेको विश्वासै लागेको छैन। उनी उत्तरपश्चिम सान्छी प्रान्तका हुन्। नयाँ वर्ष मनाउन आफ्नो सहरमा गएका उनी भर्खरै काममा फर्किएका छन्।
उनले भने, ‘चार वर्षअघि म आउँदा यहाँ ज्यादै चहलपहल थियो । अहिले निकै थोरै मानिस छन्। अर्थतन्त्रका लागि यो खतरा हो ।’
सांघाईका बासिन्दाको जीवन सामान्य दैनिकीभन्दा धेरै भिन्न छ । धेरैजसो मानिस घरबाहिर निस्कन पाएका छैनन्। बाहिर जानैपरेमा अस्थायी सुरक्षा चौकीमा स्वास्थ्य अवस्था र यसअघि गरिएको यात्राबारे जानकारी गराउनुपर्छ।
वित्तीय प्रबन्धक ली ३ फेब्रुअरीमा काममा फर्किएकी थिइन्। तर उनी मातहतका ५५ जना कामदारलाई घरमै बसेर काम गर्न प्रोत्साहन गरिएको छ।
भाइरस संक्रमण नहोस् भनेर सार्वजनिक यातायातभन्दा ट्याक्सी चढ्न निर्देशन गरिएको छ। उनले भनिन्, ‘मेरो कम्पनीले कामदारको सुरक्षाका लागि धेरै उपाय अवलम्बन गरिरहेको छ। उनीहरूलाई काममा लगाउनुभन्दा आरामदायी महसुस गराउनु महत्त्वपूर्ण हो।’
चीन सरकारलाई काम गर्नका लागि पर्याप्त जनशक्ति आवश्यक छ। विश्लेषकहरुका अनुसार कोरोना भाइरस रोक्न चीनले कम्तीमा २ अर्ब डलर खर्च गर्नुपर्ने हुन्छ।
अमेरिकासँग व्यापार युद्ध चलिरहेका कारण चिनियाँ अर्थतन्त्र विपरीत दिशातर्फ लम्किरहेको छ। सन् २०१९ मा चीनले तीन दशकयताकै मन्दी व्यहोरिरहेको विश्लेषक बताउँछन्।
चीनको घरेलु अर्थतन्त्रमा साना व्यवसाय मुख्य हिस्सेदार हो। तर कोरोना संक्रमणबाट मुक्त नभएसम्म ग्राहक बढ्ने छैनन् भने राजस्व पनि संकलन हुन सक्दैन।
यतिबेला सांघाई अर्थतन्त्रलाई जीवन्त बनाउन संघर्षरत छ। ली भन्छिन्, ‘चिनियाँ अर्थतन्त्रका लागि आगामी वर्ष चट्टानजस्तो हुन सक्छ । यो कुरा अबका दिन कसरी अघि बढ्छ भन्नेमा निर्भर छ।’
सेयर बजार सामान्य छ। उनले भनिन्, ‘आर्थिक अवस्था हेर्दा भन्नैपर्ने हुन्छ, यो निकै खराब हुन सक्छ तर तत्काल होइन केही समयपछि। मलाई लाग्छ, अबकाे वर्ष हामीले अपेक्षा गरेजस्ताे हुने छैन।’
संघर्षका लागि आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। त्यसैले स्थानीय जिमखाना बन्द भएपछि उनी अचेल योग गर्न जान छाडेकी छन्। उनले देशविदेश घुम्ने योजना रद्द गरेकी छन्।
चीनका प्रमुख सहरहरू अहिले एक प्रकारको बन्द अवस्थामा छन्। अमेरिकाजस्ता केही देशहरूले चिनियाँ नागरिकको भ्रमणमा प्रतिबन्ध लगाएको छ। तर उनी आशावादी छिन्। भन्छिन्, ‘अहिले केही छैन। हामीले कुर्नुपर्छ, अनि हामी थाहा पाउँछौं परिवर्तन कसरी हुन्छ?’
विमान कम्पनी सवा दुई अर्ब घाटामा !
अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट (आईएटीए) ले कोरोना भाइरसका कारण झन्डै सबा दुई अर्ब अमेरिकी डलर घाटा व्यहोर्ने अनुमान गरेको छ।
आईएटीएको प्रारम्भिक अध्ययनअनुसार एसिया प्रशान्त क्षेत्रमा मात्र १३ प्रतिशत यात्री घट्नेछन्।
आईएटीएका महानिर्देशक अलेक्जान्ड्रे डि जुनिय्याकले भने, ‘कोरोना भाइरसका कारण हवाई उडानमा तीव्र गिरावटले चिनियाँ बजारलाई निकै असर गर्नेछ।’ हवाई कम्पनीका लागि २०२० धेरै कठिन हुने विश्लेषण उनको छ।