मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

डोरी टाँगेर बाटो छेक्दा बालकको ज्यान गयो, पशुपतिमा साधुदेखि भक्तसम्म गाँजामा लट्ठ

देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागिरहँदा केटाकेटी भने भने बाटोमा डोरीले छेकी बटुवा तथा सवारीचालकसँग पैसा मागिरहेका छन् । यसरी पैसा संकलन गरेर उनीहरु धुनी जगाउने तथा खानेकुरा खााने गर्छन्।
 |  शुक्रबार, फागुन ९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०७६

काठमाडौं– हिन्दू धर्मावलम्वीहरुले आज शिवरात्रि पर्व मनाउँदैछन्। कोही मन्दिरमा पूजाआराधना गर्दै त कोही धुनी जगाउँदै अनि कोही व्रत बसेर शिवरात्रि मनाइरहेका छन्।

हरेक वर्षजस्तै यस वर्ष पनि काठमाडौंको पशुपतिनाथमा भक्तजनको घुइँचो लागेको छ। भारतबाट पनि थुप्रै साधु तथा भक्तहरु आएका छन्। धेरैजसो साधुहरु गाँजा, भाङले लठ्ठ देखिन्छन् ।

देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागिरहँदा केटाकेटी भने भने बाटोमा डोरीले छेकी बटुवा तथा सवारीचालकसँग पैसा मागिरहेका छन् । यसरी पैसा संकलन गरेर उनीहरु धुनी जगाउने तथा खानेकुरा खााने गर्छन्।

यसैबीच, दोलखाको कालिञ्चोक गाउँपालिकामा शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

संस्कृतिविद् दामोदर गौतम रमाइलोका नाममा चाडपर्वमा विकृति बढ्दै गएको बताउँछन्। उनले डोरी टाँगेर पैसा माग्नु पौराणिक र सामाजिक मान्यता विरोधी कार्य भएको बताए।

‘कुनै धन सम्पत्ति नभएको शिवभक्तले रातमा धुनी जगाउन दाउरालगायत पूजा सामग्रीको जोहो गर्न त्यस्ता आवश्यक सामग्री माग्ने पौराणिक प्रचलन हो । जबर्जस्ती गर्ने हुँदै होइन । जबर्जस्ती पैसा माग्नु विकृति हो,’ गौतमले भने । बालबालिकाले रमाइलोका लागि त्यसो गर्ने भए पनि अभिभावकले रोक्नुपर्ने उनको सुझाव छ ।

संस्कृतिविद् गौतम शिवबुटी भन्दै गाँजा, भाङ र अफिमको सेवन गर्ने प्रचलन पनि गलत रहेको बताउँछन् । गौतमका अनुसार सत्ययुगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा कालकुट विष निस्क्यो । त्यो विषले सबै जलाउन लाग्यो ।

त्यसपछि महादेवलाई विष व्यवस्थापन गरिदिन अनुरोध गरियो। सबैको अनुरोधपछि महादेवले सो विष पिइदिए र सो विषलाई आफ्नै घाँटीमा राखे। विषको पीडा कम गर्न पार्वतीले शिवलाई गाँजा, अफिम र धतुरोको रस बनाएर खुवाएको पुराणहरुमा उल्लेख छ ।

शिवले खाएको भन्दै गाँजा, भाङ, धतुरोजस्ता लागू पदार्थ प्रयोग गर्नुलाई गौतम विकृति भन्छन्। ‘पुराणहरुमा महादेवले सधैं गाँजा, अफिम वा धतुरो खाएको उल्लेख छैन। हलाहल विषको कारण बेहोस भएको बेलामा विष काट्न औषधीको रुपमा मात्रै प्रयोग गरिएको हो । हलाहल विष सेवन गरेको व्यक्तिले गाँजा, अफिम र धतुरो खाए हुन्छ, जो पायो त्यसैले यो खाने चिज होइन,’ गौतमले भने ।

यस वर्षको शिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागू पदार्थ निषेध गरिएको प्रहरीले बताएको थियो। तर, खुलेआम रुपमा यसको वितरण र सेवन भइरहेको देखिन्छ।

प्रकाशित: Feb 21, 2020| 14:11 शुक्रबार, फागुन ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।