काठमाडौं - राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा दसैंतिहारजस्तो ठूला चाडवाड परेकोले पुँजीगत खर्च हुन नसकेको हास्यास्पद जवाफ दिएका छन्। संघीय संसद अन्तर्गतको अर्थ समितिमा बुधबार ‘पुँजीगत खर्च किन हुन सकेन?’ भन्ने सांसदहरुको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।
समितिका सदस्यहरुलाई पुँजीगत खर्च नहुनुमा विभिन्न कारण रहेको बताउँदै उनले भने, ‘चालु आर्थिक वर्षको पहिलो चार महिनामा यो वर्ष दसैंतिहार जस्ता ठूला चाडवाड परेको थियो जसका कारण काम हुन सकेन।’
उनको जवाफमा पत्रकार तथा सभासदहरु भने एकआपसमा मुखामुख गरेर हाँसेका थिए। प्रत्येक वर्ष दसैंतिहार सधैं आर्थिक वर्षको पहिलो चार महिना अर्थात असोज र कात्तिकमा नै पर्ने गर्दछ। तर उनले यस्तो जवाफ दिएपछि बैठकका सहभागी बीच हाँसो छाएको थियो।
उनले कतिपय योजनाहरु सम्बन्धीत मन्त्रालयका मन्त्री वा सचिवलाईसमेत जानकारी नभई योजना आयोगमा आउने गरेको स्पष्ट पार्दै आयोगले तल्ला निकायसँग समन्वय गर्न नसकेको निरिह जवाफ दिएका थिए। उनले भने, ‘आयोगले तल्ला निकायसँग समन्वय गरेर काम गर्नुपर्छ भनिएको छ, तर तल्ला निकायहरुलाई माथिल्लो निकायसँग समन्वय गर्नुपर्छ भनिएको छैन। त्यसैले हामीलाई समन्वयमा कठिनाई भएको छ।’
त्यस्तै समितिको बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एक चौथाई बजेट पनि खर्च गर्न नसक्नु लज्जास्पद भएको भन्दै अब योजना आयोगले पुँजीगत खर्च बढाउनका लागि ‘आउट अफ द बक्स’ गएर सोच्नुपर्ने धारणा राखे। उनले हालका अर्थमन्त्रीप्रति कटाक्ष गर्दै भने, ‘अहिलेका अर्थमन्त्रीले मन्त्रालय सम्हाल्दा देशको अर्थतन्त्र डुब्नै लागेको जसरी श्वेतपत्र प्रस्तुत गरेका थिए। श्वेतपत्रको प्रमुख एजेन्डा भनेको गैरबजेटरी खर्च बढ्नाले अर्थतन्त्र नकारात्मक भएको भन्ने थियो, तर उनी नै मन्त्री भएको दुई वर्ष वितिसक्दा पनि गैरबजेटरी खर्च उस्तै हुनुलाई कसरी हेर्ने ?’
त्यस्तै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कतिपय आयोजनाहरु सम्बन्धीत क्षेत्रका सभासदहरुलेसमेत जानकारी नै नपाइकन बजेट परेको भन्दै आफ्नो क्षेत्रमा गएको ६ वटा बाटोको आयोजनामध्ये पाँचवटा आयोजना सो क्षेत्रका सभासदहरुलाईसमेत जानकारी नभएको स्पष्ट पारे। उनले योजना आयोगले आयोजना छनौट गर्ने र आवश्यकता भएका आयोजनाहरुमा मात्र बजेट विनियोजना गर्ने गरी आयोगले काम गर्नुपर्ने बताए। उनले भने, ‘हुन त म पनि प्रधानमन्त्री भए तर तत्कालिन समयमा सरकार अस्थिर थियो अब स्थिर सरकार आएको छ त्यसैले यस सकारकारबाट जनताले धेरै अपेक्षा गर्नु ठिकै हो।’