चितवन – भरतपुरमा नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिवर्तनका साथै व्यवसायिक विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको आयोजक नेपाल पोल्ट्री महासंघले जानकारी दिएको छ।
आगामी फागुन १६ देखि १८ गतेसम्म चितवन एक्स्पो सेन्टरमा चल्ने प्रदर्शनीले विकसित देशमा भैरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपाल भित्र्याउन महत्वपूर्ण वातावरण बन्ने महासंघले विश्वास लिएको छ।
प्रदर्शनीमा स्वदेशी र विदेशी गरी दुई सय बढी स्टलहरु रहने तथा पोल्ट्री सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासमेत हुने महासंघले जानकारी दिएको छ। यस्तै नेपाल भेटेनरी संघको सहकार्यमा चार दिने पोल्ट्री पाठशाला सेमिनारको समेत आयोजना हुने छ।
प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स ट्रेड ईभेन्ट प्रालिको सहकार्यमा आयोजना हुन लागेको हो।