काठमाडौं– पछिल्लो समय सेयर बजार परिसूचक उकालो लाग्ने क्रममा छ । साताको पहिलो दिन आइतबार १३ अंकले उकालो लागेको बजार आज सोमबार ३४.२६ अंकले बढेर १३९८.२४ अंकमा अडिएको छ ।
सेयर बजार उकालो लाग्नुको कारण हालका अर्थमन्त्री डा. युवराज खतिवडाले निरन्तरता नपाउने हल्ला भएको बताइएको छ। राष्ट्रिय सभा सदस्यको रुपमा उनको कार्याकाल सकिन लागेको छ ।
नेकपाले उनलाई पुनः राष्ट्रियसभा सदस्यमा मनोनित नगर्ने हल्ला हल्लाको प्रभाव बजारमा परेको हो। अर्थमन्त्री खतिवडा सेयर बजारप्रति नकारात्मक धारणा राख्ने भएकोले पनि उनी बाहिरिँदा बजार बढ्ने लगानीकर्ताहरु तर्क गर्छन् ।
आज सबै समूहगत परिसूचक उकालो लागेको छ । बैकिङ ४१.१३, ट्रेडिङ ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, फाइनान्स ९.७९, निर्जीबन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र म्युचुअल फन्ड ०.१ अंकले बढेको छ ।
यसदिन सबैभन्दा बढी कारोबार सिवम् सिमेन्टको भएको छ । नेप्सेका अनुसार एकैदिन कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको ११ करोड र हिमालय डिष्टीलरीको १० करोड बराबरको कारोबार भएको छ ।