काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आफ्नो कुरा राख्ने ठाउँ नभएको गुनासो गरेका छन्। सोमबार सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले नेपालका निजी क्षेत्रका मिडियाले विपक्षीहरुलाई मात्र स्थान दिएको र सरकारद्धारा सञ्चालित मिडियाहरुले पनि कथित व्यालेन्स अथवा सस्तो लोकप्रियताको लागि सरकारलाई भन्दा विपक्षीलाई नै बढी स्थान दिएको बताए ।
उनले भने, ‘सरकारले आफ्नो कुराहरु राख्नको लागि स्थान नै पाउँदैन । निजी क्षेत्रका मिडियाले विपक्षीलाई स्थान दिने गरेको छ भने सरकारद्धारा सञ्चालित मिडियाले पनि उनीहरुलाई नै बढी स्थान दिएको छ । अब तालिम केन्द्रले पनि समय समयमा पछिल्लो विषयवस्तुका बारेमा बहस चलाओसु । सरकारको पक्षमा हुनुपर्छ भन्ने होइन तर निष्पक्ष बहस चलाउँदा सही कुरा बाहिर आउँछ र त्यसले सबैलाई सहयोग पुर्याउँछ।’
उनले अब दशमलवमा बहस चलिरहेको दावी गर्दै पहिले ६ अंकको मूल्यवद्धिको लक्ष्य राखेर १६ प्रतिशत पुग्दा पनि ठिकै थियो, अहिले जम्मा ०.४ प्रतिशत मात्र बढी हुँदा हंगामा भइरहेको गुनासो गरे।
अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि जति नै कम गरेर बोल्ने अर्थशास्त्रीहरुले पनि ६ अंकको हाराहारीमा नै रहने आकलन गरिरहेको दावी गर्दै भने, ‘आफू राज्य संयन्त्रमा बस्दा औषतभन्दा बढी काम नगर्नेहरुले पनि सरकारको कामलाई आलोचना गर्दै टिभीमा अन्तवार्ता दिँदै हिँड्ने गरेका छन्, त्यस्ता मानिस तपाईंहरु चिनिराख्नुस् ।’