काठमाडौं- पर्यटन व्यवसायीले कारोना माहामारीपछि पर्यटन क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउँदै खुला गरिनुपर्ने माग गरेका छन्। नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको संयोजनमा सोमबार आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन्।
कार्यक्रममा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले ‘दुई डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने, पर्यटकलाई अन-अराइभल भिषा उपलब्ध गराउनु पर्ने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने’ निर्णय गर्नुपर्नेमा व्यवसायीले जोड दिएका थिए।
ट्रेकिङ एजेन्जी एसोसियसन अफ नेपालका महासचिव सरिता लामाले सरकारले निर्णय गर्न नसक्दा पर्यटक आउने यो सिजन (सेप्टेम्बर –नोभेम्बर) बाट पनि व्यवसायीले लाभ लिन नपाएको बताइन् ।
'पर्यटकले नेपाल आउने चासो राखेका छन् । सरकारले १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम बनाएको छ,' उनले भनिन्, 'नेपाली विदेशबाट आउँदा क्वारेन्टिन बस्ने नियम छैन् । विदेशी पर्यटकलाई मात्र यस्तो नियमले कोराना नियन्त्रणमा कसरी सहयोग पुग्छ ?'
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशीले आफूले गरेको अध्ययनमा मुख्य पर्यटकीय गन्तव्यमा काम गर्ने ८० प्रतिशतभन्दा बढी कर्मचारीले दुई डोज नै खोप लगाएको पाएकाले पर्यटन क्षेत्रलाई बन्द गर्दै राख्नुपर्ने कुनै कारण नभएको बताए।
पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउँदै अन-अराइभल भिसा दिनु पर्ने माग गरे। “विदेशमा पीसीआर गरेर आएका पर्यटकमा पनि कोरोना संक्रमण हुने जोखिम हुन सक्छ,' उनले भने, 'हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पीसीआर परिक्षण गर्ने व्यवस्था गर्यौं र छिटोभन्दा छिटो नतिजा पनि दियौँ भने संक्रमण नदेखिएका पर्यटकलाई सहजै नेपालमा घुम्न दिने व्यवस्था गर्न सक्छौँ।'
पर्यटन व्यवसायी राज ज्ञवालीले ६ महिनादेखि सरकारले ट्राभल एडभाइजरी जारी नगर्दा पर्यटकलाई आउन समस्या भएको बताउँदै सरकारले तत्काल एडभाइजरी जारी गर्नु पर्ने बताए। जवाफमा अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफरिसमा पर्यटक भिसा दिनु पर्ने गरि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको बताए।
होटल एसोशियन नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकीय गन्तव्य खुला गर्नुको साथै नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाहमा काम गर्नु पर्ने बताइन् । 'निजी क्षेत्रले आ-आफ्नो तरिकाले सूचना प्रवाह गर्दा त्रुटी हुने सम्भावना पनि हुन्छ,' उनले भनिन्, 'त्यसैले बोर्डले निजी क्षेत्र र सरकारबीच पुलको काम गर्नुपर्छ । आजका दिनमा सरकारले गरेको निर्णय खोज्दै बस्नुपर्ने अवस्था छ । यसले समस्या सिर्जना गरेको छ।'
नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाईंले आन्दोलन र राजनीतिक कार्यक्रममा कोरोना नहुने तर पर्यटक ल्याउँदा मात्र कोरोना संत्रमण बढ्छ भन्ने सोंचले पर्यटन क्षेत्रलाई थप धराशायी बनाउने बताए। यस्तै पाटा नेपाल च्याप्टरका अध्यक्ष विभु चन्दले निजी क्षेत्रले एकमत साथ उठाएको मागलाई सरकारले सम्बोधन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउनु पर्ने बताए।
कार्यक्रममा पर्यटन व्यवसायी बसन्त मिश्र, विजय अमात्य, शिव ढकाललगायतले पर्यटन क्षेत्रमा प्रतिबन्ध कायम रहँदा नेपाल आउन खोज्ने पर्यटन नै हतोत्साही हुँदै गइरहेकाले सरकारले तत्काल प्रतिबन्ध हटाउनु पर्नेमा जोड दिए।