बुधबार, भदौ ३, २०८३

खाद्यान्नको भाउ बढ्दा मूल्यवृद्धि नियन्त्रण बाहिर

मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं। मूल्य वृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकअनुसार मूल्यवृद्धि ६.८२ प्रतिशत पुगेको छ ।

चालू आवको ६ महिनामा मूल्यवृद्धि ६ प्रतिशतभित्र राख्ने लक्ष्य बैंकको थियो । अघिल्लो वर्षको सोही अवधिमा मूल्यवृद्धि ४.५८ प्रतिशत थियो ।

गत आवमा भने राष्ट्र बैंक मूल्यवृद्धि लक्ष्यभित्र नै राख्न सफल भएको थियो। मूल्यवृद्धिको सोझो असर जनतालाई नै पर्ने र यसले समग्र अर्थतन्त्रलाई विस्तारै नकारात्मकतातिर लैजाने भएकोले मूल्यवृद्धिलाई नियन्त्रणमा राख्नुपर्ने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १०.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.२५ प्रतिशत भएकोले समग्र मूल्यवृद्धिमा केही चाप परेको हो ।

चालू आर्थिक वर्षको ६ महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यवृद्धि भएको छ । गत वर्षको सोही अवधिमा मूल्यवृद्धि यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत थियो।

प्रकाशित: Feb 16, 2020| 17:38 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्