काठमाडौं- सिन्धुपाल्चोकको, लिसंखुपाखर गाउँपालिका–६ का वडा अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उपभोक्ता समितिको अध्यक्षसमेत आफै बनेर थापाले कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्रसमेत किर्ते बनाएर ६ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ।
थापासहित उक्त रकम हिनामिनामा संलग्न लिसंखुपाखर गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर लिलबहादुर पाण्डे तथा वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
वडाध्यक्ष थापाले पेट्कु खानेपानी आयोजना र मायाखोला मुहान फरक–फरक आयोजनालाई एउटै आयोजनासँग समावेश भएको हो भनी स्वीकृत नभएको आयोजनालाई वडावासीहरुको भेलाले वडा नं. १–७ सम्मका लागि छुट्ट्याएको रकम त्यही खानेपानीलाई हाल्ने भन्ने सरसल्लाह भएको झुटा कागजात तयार गरेको खुलेको छ।
थापाले मायाखोला मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई आयोजनालाई छुट्याइएको रकम खर्च नगरी हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।
सोही आयोजनामा प्रमुख प्रशासकीय अधिकृत पाख्रिन र लेखापाल तितजुकाले अनुगमन समितिको कार्यसम्पन्न निर्णयको माइन्यूटको प्रतिलिपि र वडा वडाध्यक्षको कार्यसम्पन्न सिफारिस एवं डोरहाजिरी, बिल, नक्कली भरपाईको आधारमा भुक्तानी गरेको अख्तियारले जानाएको छ।
उनीहरुले गलत कागजातलाई आधार बनाई थापासँग मिलेर रकम हिनामिनामा संलग्न रहेको पाइएको अख्तियारले जनाएको छ।
तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर पाण्डेले कार्य सम्पन्न नहुँदै आयोजनालाई छुट्याइएको रकम भुक्तानी गर्न कार्य सम्पन्नको गलत प्रतिवेदन दिएको खुलेको अख्तियारले जनाएको छ।
यस्तै जोशी र श्रेष्ठले थापासँग लिएको ४ लाख १० हजार दुवै जनाको सहमतिमा श्रेष्ठको व्यक्तिगत खातामा राखेको र १ लाखको पाइप किनेर बाँकी ३ लाख १० हजार हिनामिना गरेको अख्तियारले जनाएको छ।