काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जाको व्यवस्था सच्याउने प्रतिबद्धता जनाएपछि सेयर बजार एकैदिन करिब १६२ अंकले बढेको छ। सोमबार अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच भएको फोन संवादमा गभर्नरले मौद्रिक नीतिमा राखिएको सेयर धितो ऋणको व्यवस्थालाई सच्याउने प्रतिबद्धता जनाएका थिए। एकैदिन बढेको यो अंक हालसम्मकै सबैभन्दा बढी हो।
गभर्नरले प्रतिबद्धता जनाएको समाचार बाहिर आएसँगै आइतबार १०८ अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) सोमबार भने नेप्से १६१.९४ अंकले उकालो लागेर २९८०.७९ अंकमा अडिएको छ। बजार यसरी एक दिनको अन्तरालमा नै यति धेरै उतारचढाव आउनुमा हल्लाले काम गरेको सेयर बजार विश्लेषक बताउँछन्।
राष्ट्र बैंकले सेयर धितो ऋण एउटै संस्थाबाट ४ करोड र धेरै संस्था भए १२ करोडसम्म लिन पाइने व्यवस्था गरेको छ। त्यसपछि बजार निरन्तर घट्दै आइरहेको र आइतबार धेरै अंकले घटेपछि लगानीकर्ताहरुले गभर्नर अधिकारीको राजीनामा माग गरेका थिए ।
सोमबार ४५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ३० वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
२२४ कम्पनीको ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा कारोबार दुई अर्ब रुपैयाँ भन्दा बढीले घढेको छ। यसदिन सबैभन्दा बढी कारोबार अरुण भ्याली जलविद्युत कम्पनीको ४६ करोड ३० लाख रुपैयाँ बराबरको भएको छ।
सोमबार सबैभन्दा बढी कमाउनेमा नेसनल हाइड्रोपावरक कम्पनी लिमिटेड, गुराँस फाइनान्स कम्पनी लिमिटेडलगायतका रहेका छन्। सबैभन्दा बढी घटेका डिभेन्चर र म्युचुअल फन्डमा पनि २ प्रतिशतभन्दा कम मात्र घटेको छ।