काठमाडौं– सरकारले निर्यात प्रवद्र्धन गर्न सहयोग गर्ने २५ जना उद्योगी व्यवसायीहरुलाई सम्मान गरेको छ। आन्तरिक उत्पादन बढाउँदै निर्यात व्यापारमा सघाउ पुर्याएको भन्दै वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले महत्वपूर्ण व्यावसायिक व्यक्तिहरूलाई प्रधानमन्त्रीले सम्मान गरेका हुन्।
केन्द्रले तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा अग्रस्थानमा रहेका पाँच वस्तु धागोबाट त्रिवेणी स्पिनिङ मिल, गलैंचाबाट दि सांग्रिला कार्पेट एन्ड ह्यान्डीक्राफ्ट इन्ष्ट्रिज प्रालि रहेका छन् । त्यस्तै तयारी पोशाकमा काठमाडौं स्टोर फेसन, पश्मिना सलमा एभरेष्ट पश्मिना निटिङ एन्ड विभिङ इन्टष्ट्रिज र उनी फेटमा एभरेष्ट फेसन सम्मानित भएको केन्द्रले जनाएको छ ।
त्यस्तै भारततर्फ निकासी बढाएको आधारमा पहिलोमा डावर नेपाल, दोस्रोमा आरती स्ट्रिप्स र तेस्रोमा हुलास वायर इन्डष्ट्रीज रहेका छन् ।
त्यस्तै चीनतर्फ निकासी बढाएको आधारमा न्यु हस्तकला एक्सपोर्ट, गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालि र न्यू प्यागोडा इन्टरप्राईजेज सम्मानित भएका छन्।
त्यस्तै हस्तकलाका वस्तुहरुको निर्यातबाट नेपालमा धेरै रकम भित्र्याउने निर्यातकर्तामध्येबाट पिपुल्स क्राफ्ट एक्सपोर्ट, निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य र जडीबुटी क्षेत्रका वस्तुहको सबैभन्दा बढी निर्यात गर्नेमध्ये प्रत्येक क्षेत्रबाट एक–एक जना पनि सम्मानित भएका छन्।
कृषिजन्यतर्फ सुजनकुमार श्रेष्ठ, जडीबुटीतर्फ निर्वाणकुमार चौधरी, निर्यात व्यापारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला राजलक्ष्मी गोल्छा पनि सम्मानित भएकी छिन् ।
सफ्टवेयर निर्यातकर्ता एलआइएस नेपाल प्रालि, सबैभन्दा बढी स्वदेशी सिप र श्रम उपयोग गर्ने उत्पादनमूलक उद्योग होङसी शिवम् सिमेन्ट परेको छ।
सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीबाट पवनकुमार गोल्यान, बैंकिङ प्रणालीमार्फत विप्रेषण धेरै भित्र्याउनेमा आइएमइका चन्द्रप्रसाद ढकाल, पर्यटन क्षेत्रबाट धेरै विदेशी मुद्रा आर्जन गर्नेमा तारागाउँ रिजेन्सी होटल, युवा उद्यमी व्यवसायीमा निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने सुनिता शेर्पा र अक्षय गोल्यान सम्मानित भएका छन्।
निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघबाट भवानी राणा, नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघबाट शतीसकुमार मोर पनि सम्मानित भएको केन्द्रले जनाएको छ ।